रुस, चीन र इरानबीच संयुक्त जलसैन्य अभ्यास हुने

इरानी जलसेना प्रमुख रियर एडमिरल हुसेन खंजादीले इरानले चीन र रुससंग मिलेर संयुक्त जलसैनिक अभ्यास गर्ने बताएका छन् । उनका अनुसार अभ्यास हिन्द महासागरमा हुनेछ । खंजादीलाई उद्धृत गर्दै इरानको सरकारी संचार माध्यम प्रेस टिभीको अनलाइन पोर्टलको समाचारमा अभ्यास यहि महिनाको अन्त्यतिर हुने उल्लेख छ ।

रियर एडमिरल खंजादीले हाल इरानको भ्रमणमा रहेका चिनियाँ डेपुटी चिफ अफ ज्वाइन्ट स्टाफ डिपार्टमेन्टका मेजर जनरल शाओ युआन्मिंगसंगको भेटवार्ताको क्रममा गत मंगलबार यो घोषणा गरेका हुन् । संयुक्त अभ्यासको सांकेतिक नाम ‘मेरीटाइम सेक्युरिटी बेल्ट’ रहने बताइएको छ ।

दुवै देशका उच्चपदस्थ सैनिक अधिकारीहरुले चीन र इरानका सेनाबीचको आपसी सहयोगको महत्वको बारेमा जोड दिएको समाचारमा उल्लेख छ । यस्ता आपसी सहयोगले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा मद्दत पुग्ने तथा क्षेत्रीय स्थायित्व कायम रहने दावी गरिएको छ ।

‘अहिलेको समयमा इरानले सैनिक क्षेत्रमा चीनसँग मिलेर काम गर्नको लागि संकल्पित छ’,  खंदाज़ीले सो अवसरमा भनेका थिए, ‘संयुक्त प्रयासमा रणनैतिक उद्धेश्यहरु स्पष्ट परिभाषित हुनेछन् साथै सहयोगका तहको निर्धारण दुवै देशका प्रशासन र सेनाले गर्नेछ ।’

सो अवसरमा चिनियाँ मेजर जनरल युआन्मिंगले इरानको जलसेनाको प्रशंसा गर्दै  इरानी नेभी अन्तर्राष्ट्रिय स्तरको रणनैतिक फोर्स भएको अभिव्यक्ति दिएका थिए । युआन्मिंगले बेईजिङले तेहरानसंग दुवै देशको सेना र नेभीबीच द्विपक्षीय सम्बन्धको विकास होस् भन्ने चाहेको बताएका थिए । यस्तो सम्बन्धलाइ अझ मजबुत पार्न ज्ञान, शिक्षा, प्रबिधि र सूचनाको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्दै लैजानु आवश्यक भएको तथ्यमाथि उनले जोड दिएका थिए ।

चिनियाँ सैन्य अधिकारीले आउदो जलसैनिक अभ्यासमा चीन, इरान र रुस बीचको एकता प्रदर्शन हुनेसमेत बताएका थिए ।

वर्तमान अवस्थामा इरानको जलसेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्नो उपस्थिती मजबुत पार्दै लगेको छ । यसले व्यापारिक जहाजहरु र इन्धनका ट्यांकरहरुको सुरक्षा प्रदान गर्ने कामहरु गर्दै आएको छ । इरानको जलसेनाले इरानी तथा अन्य बिदेशी जलबाहनहरुमाथि हुदै आएका आक्रमणका थुप्रै प्रयासहरुलाइ विफल समेत पारेको समाचारमा उल्लेख गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top