दोस्रो पुस्ताकी नेपाली ब्यारेष्टर स्नेहा

स्नेहा शाक्य श्रेष्ठ बेलायतमा दोस्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर बन्नको लागि बेलायतको इनर टेम्पल बारको सदस्य भएकी छिन् । उनी यसै वर्ष सिटी ल कलेजबाट बार प्रोफेसनल ट्रेनिङ्ग कोर्स (बिपीटिसी)मा उच्च अंक (८०.४० प्रतिशत) प्राप्त गरि ब्यारेष्टर बन्ने अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी हुन् । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभब प्राप्त गरे पछि उनी प्रक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन् । प्रोफेसर डाक्टर सुर्य सुबेदी क्यु सी तथा देबेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् ।

स्नेहा, चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका पिता अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र बाग्लुग मूल थलो भएकी आमा मिनु शाक्यसँगै करीव दुइ दशक पहिले बेलायत आएकी थिइन् । उनले कक्षा दुईसम्मको शिक्षा नेपालमै हासील गरेर बाँकी अध्ययन बेलायतमा गरेकी हुन् । उनले विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकी हुन् ।

लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ति नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको विषयमा अनुसन्धान गर्न लामो समय नेपालका विभिन्न स्थानमा गएर स्नेहाले सरोकारवाला र विज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।

बेलायतमा कानूनी पेशालाई सम्मानीत पेशाकारुपमा लिइन्छ । सो कक्षा तयारीका लागी चाहिने लगन र मेहनतका कारण पनि कानूनी पेशाको कदर अन्य मुलुकहरुका तुलनामा बेलायतमा धेरै नै गर्व गर्ने बिषयका रुपमा लिइन्छ । संसारको न्याय इतिहासको उद्गमस्थल भएको स्थान म्याग्नाकार्टाको सेरोफेरोमा रहेर विद्यार्थी जीवन बिताउन पाउनु र माता पिताको प्रेरणाका कारण पनि स्नेहालाई कानूनी क्षेत्रमा आउने अवसर प्रदान गरेको थियो ।

बेलायतमा पनि नेपाली कानून व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । ब्रिटेन नेपाल लयर्स एशोशियशनको पहल कदमीमा नेपालीहरुले यहाको बारको परीक्षा दिनसक्ने व्यवस्था छ । ब्रिटेनबाट शिक्षा प्राप्त गरेका नयाँ पुस्तामा कानून  विषयमा धेरै युवाहरुको संलग्नता हुनु खुशीको बिषय हो । 

सानै उमेरदेखि नै संगीत कलामा रुची भएकी स्नेहाले डरिग्टन हाइ स्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको भ्वाइस अफ द एर नेपालमा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौ नेपाली अंग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन्। उनले संगीतकार अनिल शाही र न्ह्यु बज्राचार्यसंग चारवटा गीतहरु रेकर्ड गराई सकेकी छिन् ।

भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई पनि अगाडी बढाउनु पर्छ भन्ने धारणा स्नेहाको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top