चरम जातीयताको शिकार : एकल महिला

  • योगश खपाङ्गी

विधवा अर्थात् एकल महिलाको पीडा जति भोग्नेलाई थाहा हुन्छ, त्यति अरुले अनुमान मात्र गर्न सक्ने कुरा हो । उसै पनि आफ्नो जीवनसाथी गुमाउँदाको पीडा उनीहरुले हरेक क्षण भोग्नुपरिरहेको हुन्छ भने घर–परिवार र समाजले दिने प्रताडनाले झन् घाउमा नूनचूक छर्ने काम गरिरहेको हुन्छ । उनीहरुले भोग्ने सामाजिक प्रताडना हिजो जति थियो आज पनि उत्तिकै छ ।

विधवाको दयनीय अवस्था हुनाको पछाडि एउटा लामो इतिहास छ । यसको जडमा धर्मका नाममा जबरजस्ती जोडिएको पुरुषवादी अहम् रहेको तथ्य फेला पर्छ ।

आरम्भमा जसो–जसो पण्डित–पुरोहित वर्गले आफूलाई ईश्वरको ‘एजेन्ट’को रुपमा प्रस्तुत गर्न थाले उसै उनीहरु आफूलाई अरु जातिभन्दा श्रेष्ठ सम्झिन थाले । भविष्यमा समेत आफू र आफ्ना सन्तानलाई पनि श्रेष्ठ, पवित्र वा उँचो बनाउने ध्येयले जातिपाति, उँचनीच र छुवाछुत प्रथालाई सुरुवात गराए । त्यसका लागि उनीहरुले अनेकौं चाल चाले । त्यसमध्ये पहिलो थियो– आफ्नै जातीभित्र मात्र विवाह ।

यसरी ब्राह्मण समाज एउटा बन्द समाज बन्न गयो । यसैको अनुकरण अन्य जातिहरुले पनि गर्दै गए । अनि हिन्दु समाजभित्र बिहेबारी आ–आफ्नै जातिभित्र मात्र गर्ने चलन चल्यो । यसबाट एक जाति र अर्को जातिबीच कहिल्यै मेल नहुने गरी फूट पैदा भयो । यो फूटको मारमा दलित भनिएका समुदाय र त्यसमा पनि महिलाहरु दोहोरो मारमा पर्न गए । यसबाट विधवाको समस्या पैदा भयो ।

संसारमा महिला र पुरुषको जनसङ्ख्याको अनुपात लगभग बराबर छ । त्यसो हुँदा पुरुष पनि एकल जीवन जिउन बाध्य हुन्छन् । तर उनीहरुलाई पुरुषप्रधान समाजले कुनै प्रताडना दिँदैन ।

विधवालाई बाँचे पनि मरेतुल्य जीवन जिउन बाध्य गराउनु र समाजमा हेलमेल गर्न नदिनुका पछाडि आफ्ना नश्ललाई ज्युँका त्युँ राख्ने उद्देश्य थियो । किन कि विधवा महिला हृष्ठपुष्ठ, स्वस्थ्य र सुन्दर भएमा अरु नै जातिसँग पुनर्विवाह गर्ने खतरा उत्पन्न हुन्थ्यो । त्यसैले उनीहरुलाई मृतक पतिसँगै जिउँदै जलाउने अर्थात् सति पठाउने चलन चलाइयो । सति पठाउनुका पछाडि धन–सम्पत्तिको भागबण्डा पनि कारण थियो । तर त्योभन्दा पनि बाँचेमा अन्तरजातीय विवाह हुने वा अरु जातिको पुरुषसँग गोप्य रुपमा लसपस हुने डर नै प्रमुख थियो ।

विधवालाई सताउने परम्परा आर्यबाहेक अरु जाति र समाजमा त्यति धेरै छैन । नेवारी समाजमा बेल विवाह गरिएको हुन्छ । पतिको मृत्यु भए पनि पत्नीले विधवा रुप धारण गरेर बस्नु पर्दैन । त्यसैगरी जनजाति समुदायमा पनि विधवा हुनु र पुनर्विवाह गर्नुलाई उत्ति ठूलो रुपमा लिइँदैन । आर्यहरुमा मात्र यतिविधि विधवालाई सताइनुका पछाडि हिन्दु धर्म र संस्कार जोडिएर आउँछ ।

हिन्दु ग्रन्थमा विधवालाई सति पठाउने चाल

विधवाको चर्चा पाँच हजार वर्ष वा त्योभन्दा अघि रचना गरिएको भनी दावी गर्ने गरिएको वेद (अथर्व वेद १८/३/१ र कृष्ण यजुर्वेद तैतरीय संहिता ६/१/१३) मा पनि उल्लेख छ ।

पहिले त विधवा महिलालाई जबरजस्ती सति पठाइन्थ्यो । तर जबरजस्तीको काम धेरै दिन टिक्ने थिएन । त्यसैले उनीहरुलाई परलोकको प्रलोभन दिन सुरु गरियो । यसको उल्लेख परासरस्मृति, अध्याय ४, ब्रह्मपुराण एवम् गौमति माहात्म्य १०/७६, ७४ मा छ ।

त्यसैगरी याज्ञवल्क्यस्मृति (१/८६) मा सति जानलाई स्वर्गको प्रलोभन दिँदै भनिएको छ– जो स्त्री पतिसँगै अनुगमन अर्थात् सति जान्छे, उसले साढे तीन करोड वर्षसम्म स्वर्गमा बस्न पाउँछे ।

– सर्प पक्डिनेले जसरी प्वालबाट साँप निकाल्छ, त्यसैगरी त्यो स्त्रीले नर्कबाट आफ्नो पतिलाई उद्धार गर्नेछे र ऊसँग स्वर्गको आनन्द भोग गर्नेछे ।

– मृत पतिसँग जो नारी आगोमा प्रवेश गर्छे, उसले अरुन्धतिसमान स्वर्गमा यश पाउँछे । जबसम्म नारी मृत पतिसँग जल्दिन, तबसम्म उसको शरीरले छुटकारा पाउँदैन । (अर्थात् उसले स्त्रीको रुपमा फेरि नजन्मिनका लागि सति जानैपर्छ ।)

यस्तै प्रलोभन दक्षस्मृतिले पनि दिएको छ । त्यसमा लेखिएको छ– पति मरेपछि जो स्त्री आगोमा भष्म भएर सति जान्छे, त्यो शुद्ध आचरणकी हुन्छे र उसलाई स्वर्गमा पूजा गरिन्छ ।

विष्णुस्मृति भन्छ– जबसम्म मृत पतिप्रति ओतप्रोत भएर उसको स्त्री ऊसँग मर्दिन वा आफ्नो सत्ता उसमा मिलाउँदिन, तबसम्म उक्त स्त्रीले न शरीरसँग छुटकारा पाउँछे, न त उसले मोक्ष्य प्राप्त गर्छे ।

वृद्धहारीत स्मृति, अध्याय ११ मा सति जान प्रलोभन दिँदै लेखिएको छ– जो स्त्री मृत पतिसँगै मर्छे, उसलाई पतिव्रता सम्झिनु पर्छ । जो स्त्री मृत पतिलाई आलिंगन गरेर अग्निमा प्रवेश गर्छे, उसले त्यसरी नै पतिको लोक प्राप्त गर्छे, जसरी विष्णुसँग लक्ष्मी ।

जिउँदैमा विधवालाई मरेतुल्य बनाउने षडयन्त्र

कालान्तरमा महिलाहरुले सति प्रथाका विरुद्ध विद्रोह गर्न थाले । कतिपय पति मर्नेवित्तिकै र कति चाहिँ चिताबाटै भाग्न थाले । आधुनिक भारत र नेपालमा यो प्रथालाई कानुनी रुपमै निषेध गरियो । कुनै दिन सतिप्रथा निषेशको अवस्थामा पनि आउँछ भन्ने कुरा पनि ब्राह्मण पुरुषहरुले पहिले नै अनुमान गरिसकेका थिए । त्यसैले हजारौं वर्ष अघि नै हजारौं वर्षसम्म विधवालाई जिउँदैमा मरेतुल्य बनाउने प्रपञ्च रचिएको थियो । यसमा पनि जातीय श्रेष्ठता कायम राख्ने नै ध्येय थियो ।
यस सम्बन्धमा विभिन्न कथित धर्मग्रन्थमा यस्तो पनि लेखिएको छ :

– पति मरेपछि यदि कुनै स्त्री बाँच्न चाहन्छे भने उसले केवल पुष्प, फल एवम् कन्दमूल मात्र खाएर आफ्नो शरीर गलाएर दुर्बल बनाओस् । (मनुस्मृति ५/१५७)

– विधवा स्त्री जीवित रही भने उसको केश काटिदिनु । उसले ब्रह्मचर्य रुप तपले शरीर शुद्ध राखोस् । (व्यासस्मृति २/५३)

– विधवा स्त्रीले कपाल सम्हाल्न छोडिदिनु पर्छ । पान खान, गन्ध, पुष्प, आभूषण एवम् रङ्गीन बस्त्रको प्रयोग गर्न छोडिदिनु पर्छ । पित्तलकाँसको वर्तनमा भोजन गर्नुहुन्न । दिनको २ पटक खाना खानु हुन्न । आँखामा गाजल वा सुरमा लगाउनु हुन्न । उसले सेतो बस्त्र धारण गर्नुपर्छ । इन्द्रीयलाई दमन गर्नुपर्छ । सधैँ हरिको पूजा गर्नुपर्छ । रात्रीमा कुशको चटाइमा सुत्नु पर्छ । (वृद्धहारित १/२०५–२१०)

यस्तै किसिमको प्रताडना दिने वा सताउने खालका अमानवीय कुराहरु स्कन्दपुराण, मदन पारिजात, निर्णयसिन्धु, धर्मसिन्धु, हारितस्मृति, उद्वाहतत्व, बौधायन लगायतका हिन्दु ग्रन्थहरुमा लेखिएको छ । जसलाई समग्रमा यसरी बुझ्न सकिन्छ :

– अमंगलमा विधवा सबैभन्दा अमंगल छन् । विधवालाई देखियो भने बन्न लागेको काम बिग्रिन्छ । विधवाको आशिर्वाद लिनु समझदार व्यक्तिले सर्पको विष लिएसमान ठान्नुपर्छ । विधवाले कपाल बाँधी भने मृतक पति बन्धनमा पर्छ । त्यसैले विधवाले शीरमुण्डन गर्नुपर्छ । उसले दिनमा एकपटक मात्र भोजन गर्नुपर्छ वा प्रायः उपवास नै बस्नुपर्छ । चन्द्रायण ब्रत बस्नुपर्छ ।

विधवालाई मनोवैज्ञानिक समस्या

भन्नका लागि त विवादास्पद ग्रन्थ ‘मनुस्मृति’मा एउटा श्लोक छ –

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पुज्यन्ते सर्वास्तत्राफलाः क्रियाः । ५६।

अर्थात् जहाँ स्त्रीको आदर–सम्मान हुन्छ, त्यहाँ देवताहरु खुशी हुन्छन् । अनि जहाँ उनीहरुलाई तिरस्कारमय व्यवहार गरिन्छ, त्यहाँ गरिएको काम सफल हुँदैन ।

तर यही मनुस्मृतिलगायत अन्य कथित धर्मग्रन्थहरुमा नारीलाई सताउने यति धेरै कुराहरु लेखिएको छ, मानौं स्त्रीहरु पुरुषका दुश्मन थिए, हुन् र रहनेछन् ।

यो होइन कि विधवा महिलालाई पुरुषहरुले मात्र सताउँछन् । पति भएका धर्मभिरु महिलाले पुरुषले भन्दा बढी सताउँछन् भन्ने कुरा जगजाहेर छ ।

विधवालाई कथित धर्मग्रन्थले दिएको आदेशभन्दा अन्य थुप्रै किसिमले ताडना दिइन्छ । यसले गर्दा अधिकांश महिलाहरुमा मनोवैज्ञानिक समस्या देखिने गर्छ । यस्तो समस्या भएका महिलालाई माता चढेको भन्ने वा बोक्सी भएको आरोप लगाएर मलमूत्र खुवाउने, गाउँ निकाला गरिएकोसम्मका घटनाहरु प्रशस्त सुन्न र पढ्न पाइन्छ ।

तेहरो मारमा दलित विधवा महिला

एक त महिला, त्यसमाथि विधवा अनि अझ दलित हुनुको पीडाका साथ लाखौं महिला जिउन बाध्य छन् । दलित विधवा महिलाका पीडा त झन् यति छन् कि अरुले शायदै अनुमान गर्न सक्छन् । गरिबी, पारिवारिक जिम्मेवारी, छोरा–छोरीको लालनपालन, विधवा हुनुको पीडा अनि छुवाछुतको मार एकैपटक भोगिरहेका हुन्छन् दलित महिलाले ।

विधवा समस्याबाट मुक्ति

विधवालाई सताउने क्रिया हजारौं वर्षदेखि यस्तरी जरो गाडेर बसेको छ कि यसबाट पूर्ण मुक्त हुन अझै सयौं वर्षको कालखण्ड पार गर्नुपर्छ । हुन त अचेत बोक्सी आरोप लगाउने, अन्धविश्वासको आधारमा सताउने व्यक्तिहरुलाई कानुनले दण्डसजाय दिन थालेको छ । तर समाजमा कयौं यस्ता घटना घटिरहेका हुन्छन्, जुन कानुनको कठघरासम्म आइपुग्नै पाउँदैनन् । त्यसलाई चुपचाप सहनुको विकल्प एकल महिलाहरुसँग छैन । पछिल्लो समय सरकारी निकाय तथा सामाजिक संस्थाहरु विधवाका समस्या हल गर्न सक्रियतापूर्वक लागेका छन्, जो उनीहरुको मनोबल उठाउन प्रयत्नशील छन् । विधवा समस्याबाट द्रूत मुक्तिका लागि अहिले भइरहेका कदम अपर्याप्त छन् । त्यसका लागि समाजका प्रत्येक व्यक्तिलाई सही शिक्षा दिन र सामाजिक चेतनामा अझै धेरै जागरुकता ल्याउन आवश्यक छ । ‘समयबद्ध’ बाट

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top