उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीन दिनभित्र उपनिर्वाचनको समिक्षा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । नेकपाले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको हो ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले २३ गते अगाडि नै चुनावी समीक्षात्मक प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले धरान उपमहानगरपालिका, भक्तपुर प्रदेश सभालगायतमा नेकपाको पराजय हुनुको कारण खुलाउन पनि निर्देशन दिएको छ ।

बैठकले उपनिर्वाचन समीक्षा र पार्टी संगठनबारे छलफल गर्न यही म‌ंसिर २३ गते सचिवालयको अर्को बैठक बस्ने निर्णयसमेत गरेको छ ।

बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारेजानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओली अस्पतालमा, झलनाथ खनाल र ईश्वर पोखरेल इलाममा भएकाले आजको बैठकमा उपस्थित थिएनन्।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top