चीनद्वारा अमेरिकी कुटनीतिज्ञलाई सिन्जियाङ प्रवेशमा रोक

सिन्जियाङको सम्बन्धमा गलत विचार राख्ने अमेरिकी अधिकारी र सांसदहरुलाई चीनले भिसा नदिने सम्भावना बढेको छ । चीनको अंग्रेजी भाषामा प्रकाशित हुने ग्लोवल टाइम्सका प्रधान सम्पादक हु सिजिनले मंगलबार यस तथ्यको खुलासा गरेका हुन् ।

केही अमेरिकी सांसदहरुले सिन्जियाङसंग सम्बन्धित विधेयकको पक्षमा लगातार मतदान गर्दै आइरहेको रुसी संचार संस्था स्पुत्निकले जनाएको छ । ‘यो बिधेयक पारित भएमा अमेरिकी अधिकारीहरुले चीनलाई मानव अधिकारको सवाललाई लिएर दण्डित गर्न सक्नेछन्’, समाचारमा भनिएको छ ।

गत २०१८ को अगष्ट महिनामा युएनको जातीय विभेद हटाउने सम्बन्धि कमिटीले सिन्जियाङमा ठूलो संख्यामा उइघुर जातिका र अन्य मुस्लिमहरुलाई कुनै अभियोग र मुद्दाबिना नै लामो समयसम्म ‘रि-एजुकेशन क्याम्पहरुमा’ राखिएको रिपोर्टिङ गरेको थियो । यो कदमलाइ चीनले आतंकवाद र धार्मिक उग्रवादलाई हटाउन गरेको प्रशिक्षण भन्दै आएको समेत सो कमिटीको रिपोर्टमा उल्लेख छ ।

यो इस्युमाथि चिनियाँ विदेश मन्त्रालयले ‘प्रमाणको अभाव र वास्तविकता भन्दा धेरै टाढा रहेको’ दावी गर्दै अत्यन्त भ्रामक भएको प्रतिक्रिया दिएको थियो ।

चिनियाँ अधिकारीहरुका अनुसार यस्ता केन्द्रहरु व्यावसायिक शिक्षाका केन्द्रहरु हुन् । त्यहाँ भाषा, कानूनी र व्यावहारिक शिक्षा दिइन्छ । साथै त्यहाँ उग्रवाद र आतंकवादको प्रतिबाद कसरी गर्ने भनेर सिकाइन्छ ।

गत सोमबार पनि चीनले हङकङमा अमेरिकाद्वारा गरेको हस्तक्षेपलाइ लिएर कडा आलोचना गर्दै प्रतिकारात्मक कदम उठाएको थियो । यसअन्तर्गत अमेरिकी एनजीओहरुमाथि प्रतिवन्ध र अमेरिकी युद्धपोत र हवाई जहाजहरुलाई हङकङ प्रवेशमा रोक लगाउने बताएको थियो ।

सिन्जियाङसंग सम्बन्धित विधेयकले चिनियाँ कम्पनीहरुलाई घाटा पुग्न बताइएको छ । यो विधेयक पास भएमा चीनले  पनि प्रतिकार स्वरुप अन्य कदम चाल्न सक्ने सम्भावना त्यत्तिकै भएको तथ्य समाचारमा उल्लेख गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top