बाबुरामलाई उपेन्द्रको जवाफ-‘सीमाको कुरा गर्नुस्, सरकारको होइन’

Last Updated on

काठमाडौं । गत बिहीबार बसेको समाजवादी पार्टीको संघीय परिषद बैठकले तत्काल सरकार नछाड्ने निर्णय गर्यो । बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकार छाड्नेपर्ने आशय सहितको प्रतिवेदन पेश गरेका थिए । तर उपप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकार छाड्ने मनस्थितिमा नरहेका कारण बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको थियो  ।

भटराईले तत्काल सरकार छाड्न दबाब दिएपनिअध्यक्ष यादव तयार नभए पछि बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गर्न सकेन ।

बैठकले तत्काल सरकार नछाड्ने निर्णय मात्र गरेन, अध्यक्ष यादव र भट्टराईबीचको असन्तुष्टि समेत बैठकमा पोखियो । आफूहरुको मुख्य एजेण्डा संविधान संशोधन भए पनि यो एजेण्डामा ठोस प्रगति हुन नसकेको भन्दै सरकारमा बस्नुको औचित्य सक्किएको भट्टराईको तर्कलाई काउन्टर दिँदै यादवले देशको सिमाना मिचिएको बेला सरकारलाई साथ दिएर बलियो बनाइ देश बचाउनुको सट्टा सरकारसँग निहुँ खोज्नु उचित नहुने जवाफ दिएका थिए ।

अध्यक्ष यादवले देशको सीमा मिचिएका बेला सबै एकजुट भइ सरकारलाई साथ दिनुपर्नेमा जोड दिएका थिए । उनले भारतसँग कुटनीतिक पहल गरी आफ्नो जमिन फिर्ता ल्याउनु नै अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने पनि बताएका थिए ।

आफूहरुको मुख्य एजेण्डा संविधान संशोधन भए पनि त्यो संविधान लागू गर्नको लागि पहिले देश बच्नुपर्ने अध्यक्ष यादवको तर्क थियो । ‘देश भयो भने हामीले राजनीति गर्ने हो देश नै नभए हाम्रो राजनीतिको केही औचित्य रहँदैन’ उनले भनेका थिए, ‘संविधान संशोधन भइहाले पनि त्यो संशोधित संविधान लागू गराउन देश चाहिन्छ । देश नै नभए केही पनि रहँदैन त्यसैले पहिले देश बचाउनतर्फ लागौं ।’

सरकारमा सहभागी संघिय समाजवादी पार्टी सरकारप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संविधान संशोधन लगायतका मुद्धामा सहमत गराएर यादव आफैँ उपप्रधानमन्त्री बनेर सरकारमा गएका थिए । तर संविधान संशोधनप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको भन्दै पछिल्लो समय समाजवादीले सरकार छाड्ने चेतावनी दिंदै आएको थियो ।

संविधान संशोधनको कुरा गरे पनि यादवको असन्तुष्टि भने प्रदेश प्रमुख चयनमा प्रधानमन्त्री ओलीले गरेको बेवास्ताप्रति रहेको बताईन्छ । प्रधानमन्त्री ओली भने तत्काल संविधान संशोधन गर्ने पक्षमा छैनन् । सरकारमै रहेर सरकारको विरोध गरेको भन्दै प्रधानमन्त्री ओली यादवसंग असन्तुष्ट छन् । उनी समाजवादीलाई जसरी पनि मनाएर सरकारमा राखिराख्ने मनस्थितिमा नरहेको बताइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top