सिमानाको सालिक (कवितासङ्ग्रह)

  • अरुणबहादुर खत्री “नदी”

नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएकी साहित्यकार गीता पुडासैनीको सिमानाको सालिक नामक कवितासङ्ग्रह पहिलो कृतिको रुपमा २०७५ सालमा प्रकाशित भएको छ । यो कवितासङ्ग्रहमा सगरमाथाको सम्बोधन, आइमाई, आमा र पत्नी, जवाफ, प्रयोगशालाबाट फर्कदा, नागरिकको बकपत्र, कवि, सहचालक लगायत विभिन्न शीर्षकका ३० वटा कविताहरु सङ्गृहीत छन् । यी सङ्गृहीत कविताहरुमध्येको एक कविता हो सिमानाको सालिक यही कविता नै यस कवितासङ्ग्रहको कभर पृष्ठमा प्रमुख पात्र बन्न पुगेको देखिन्छ । सिमानाको सालिक कविताभित्र उभिनुअघि देखेको हुनुपर्छ कुरुक्षेत्रको चरमता भोगिरहेको माटो स्वाभिमानको झन्डा बोकेर उभिन बिर्सिएको कवयित्रीले लेखेकी छिन् ।

कवयित्री गीतालाई साहित्य मन पर्छ साहित्यिक रचना लेखेर यसमै डुब्न उनी मन पराउँछिन् । मातृत्वका नयाँ आकाश समातेका छन् गीताका कविताले । प्रयोगशालाबाट फर्कदा शीर्षकको कविताभित्र तिमीले आफ्नै घरको खटप्वाल देखेका छैनौ तिमीले देख्नै नसकेको खटप्वालबाट मैले तिम्रो घर र पूरै जिन्दगी पढिरहेको छु भनिएको छ । नारीवाद र पुरुषवादको द्वन्द्वमा उनका अनुभूतिहरु अल्झिएका छैनन् । गीताले लेखेका कवितामा जीवनको ध्वनि छ । त्यस ध्वनिले आफ्नो माटो, संस्कार, सभ्यता र पसिनालाई बढी स्पर्श गरेको बोध हुन्छ कविता पढ्दै जाँदा । उनले लेखेका कविताहरु मार्मिक, सुन्दर र प्रभावशाली छन् । शैलीमा निजत्व प्रवाहित रहेको पाइन्छ भने चिन्तन पक्ष विशेष देखिन्छ । कविताहरु प्रतिकात्मक छन् । प्राकृतिक र सांस्कृतिक बिम्बहरुले कवितालाई रोचक बनाएको छ ।

हेर्नूस्
हजुरहरु त छोटे महाराज !
मेरा बाजेले आर्जेको त्यो बारीमा
बाले बदाम फलाएर
महारानीको हजुरीमा चढाउँदा–चढाउँदै
पानीको खोले खाएर
हुर्केको आसामी न परेँ म ।

जब झन्डा फहराइरहेजस्ता देखिने टाकुराहरुलाई मुसारेर हत्केलामा हावाको बेलुन थपक्क आएर बस्छ सिमानाको सालिक शीर्षकको कवितामा कवयित्री गीताले लेखेकी छिन् । कवयित्री गीताले सिर्जना गरेका कविताहरु यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ । कविको मन अत्यन्त कोमल हुन्छ, संवेदनशील हुन्छ त्यसैले ऊ सूक्ष्मभन्दा सूक्ष्म कुराहरुलाई नजिकबाट नियाल्न सक्छ । त्यसैले उसले कविता लेख्न सक्छ । कवयित्री गीताले इमान्दारीपूर्वक निर्भीकताका साथ आफ्नो सभ्यता र संस्कृतिका साथै यावत् जीवनको जटिलतम गूढ रहस्यलाई प्रकृति, कला, विचारको माध्यमबाट सशक्त रुपमा अभिव्यक्ति दिएकी छिन् । उनले लेखेका कविताहरु स्तरीय र तिख्खर बन्दै गरेका छन् । कवयित्रीलाई हाम्रा केही सामाजिक रीतिस्थितिहरु मन पर्दो रहेनछ । उनी त्यही रीतिस्थितिभित्रै छिन् । उनी त्यहाँबाट उन्मुक्त हुन पनि सक्दिनन् । प्रेम र माधुर्यका मात्र कविता लेख्नेहरुका लागि यो एउटा गतिलो चड्कन हुनेछ जस्तो मलाई लाग्छ । प्रेम भनेको युवा युवती बीचको मात्र नभएर प्रकृति आफ्नो मातृभूमिप्रति पनि हुन्छ भन्ने कुरा यो सङ्ग्रहले बताउछ । अधिकांश कविताहरुमा प्रकृति प्रेम झल्कन्छन् ।

झन्डामुनि उभिएर
जब तिमी चुरोट सल्काउँछौ
मलाई यस्तो लाग्छ
तिम्रो छाती दनदन बलिरहेछ ।

कवयित्री गीताको हृदय भावुक छ । उनलाई राष्ट्रको अगाध माया छ । त्यसैले त उनी भावनामा र कर्मशीलतामा नेपाललाई देख्दछिन् । राष्ट्रका अङ्ग–अङ्गसित समाहित हुन पुग्दछिन् । कवयित्री गीताका कविताहरु भावनात्मक मात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । गीता पुडासैनी काव्यिक जगत्मा उदयीमान सर्जक हुन् । उनका समकालीन केही कविताहरु समय सान्दर्भिक र वलवान् देखिन्छन् । साँच्चै भन्ने हो भने गीताद्वारा लेखिएका कविताहरुको भाषा सरल छ । सरल शब्दमा उनिएका कविताहरु पढ्नमा जति सजिलो हुन्छ त्यसैगरी बुझ्न समेत कठिनाइ पर्दैन भन्ने भनाई पाठक वर्गको देखिन आउँछ । अन्त्यमा उनका अन्य राम्रा राम्रा कविता सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।

हाकिमले बेरुजु फछ्र्यौट गरेझैँ
छाती अधिग्रहण गरेर
क्षतिपूर्तिको पूर्जी बनाइरहेको ठेकेदारजस्तो
लाग्छ यो संस्कृति ।

कृतिः सिमानाको सालिक (कवितासङ्ग्रह)
कृतिकारः गीता पुडासैनी
संस्करणः पहिलो, वि.सं.२०७५ भदौ, मूल्यः रु.१५०।– पृष्ठः ८६
प्रकाशकः नुवाकोट साहित्य प्रतिष्ठान, नेपाल सामाखुसी साहित्य समाज

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top