बोलिभियाको अराजकताले लिबियाको स्मरण गराउँछ !

सत्ता-रिक्तताको कारणले बोलिभियालाई लिबियाको जस्तै बिपत्तिको स्थितीमा धकेलेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । यसप्रकारका प्रदर्शनहरु बिस्तारै अन्य देशहरुमा फैलिन सक्ने तर्फ चेतावनी दिंदै उनले ‘कमनसेन्स’ प्रयोग गर्न ल्याटिन अमेरिकी नेताहरुलाई आह्वान गरेका छन् ।

गत मंगलबार बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरलेस मेक्सिको तर्फ पलायन भएका थिए । उनि गत अक्टोबर महिनामा भएको निर्बाचनमा पुन:निर्बाचित भएको घोषणा भएको थियो । तर उनका बिपक्षीहरुले चुनाव परिणामलाई अस्विकार गर्दै दिनहुँ हिंशात्मक प्रदर्शन गर्न थाले । त्यहाँको सेना र पुलिसले मोरलेसलाई सत्ता त्याग गर्ने सल्लाह दिएपछि उनले देशमा हिंशा नमच्चियोस भनि पदत्याग गरेका थिए ।

उनको पद त्याग सँगै बिपक्षी नेत्री जिनाइन अनेज़ले आफुलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेको छिन् । तर उनलाई चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको मोरलेसको दल मुभमेन्ट फर सोसिलिज्मले मान्यता दिएको छैन ।

मोरलेस समर्थकहरु यसप्रकारको ‘सफ्ट कु’ बाट क्रुद्ध भै राजधानी लापाजका सडकहरुमा दिनहुँ बिरोध प्रदर्शन गरिरहेका छन् । तर पहिला मोरलेसको बिरुद्ध निस्कने जुलुसलाई नियन्त्रण गर्न कुनै कदम नचाल्ने सुरक्षाकर्मीहरु मोरलेस समर्थकहरु माथि भने कठोर बनेको छ । अनेजले जुन तरिकाले शक्ति हत्याए पनि आफ्नो पोजिसन भने सुरक्षित राखेकी छिन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “नेतृत्व बिनाको देश अराजक समाजमा बदलिन्छ” भन्दै अहिलेको बोलिभियाको स्थिती केही मात्रामा भएपनि लिबियासँग मिल्दोजुल्दो भएको बताएका छन् ।

यद्यपि बाहिरबाट प्रत्यक्ष आक्रमण नभएको भएता पनि बोलिभियाको अहिलेको परिस्थिती भद्रगोलपूर्ण रहेको छ ।

सन् २०११ मा लिबियामा पश्चिमि राष्ट्रहरुले उचालेका बिद्रोहीहरुले शुरुमा अस्तव्यस्त स्थितीको सृजना गरे । तत्पश्चात नाटो राष्ट्रहरुले ‘मानवीय सहायता’को नाममा हवाई हमला गरेर तत्कालिन अवस्थाको अफ्रिकाको सबैभन्दा धनि देशलाई खरानी पारे । उनीहरुले गद्दाफीलाई मारे । अहिले त्यहाँ लिबियाको बिशाल तेल भण्डार लाई पश्चिमिहरुका कठपुतली भिन्न-भिन्न सशस्त्र मिलिसियाहरुले आ-आफ्नो कब्जामा पार्न एक आपसमा प्रतिष्प्रर्धा शुरु भएको अवस्था छ । देश विभाजित भएको छ । आधारभूत आवश्यकताको भयङ्कर अभाव छ र बजारमा मानिसहरुको किनबेच खुला रुपमा चलेको छ ।

बोलिभियाको गडबडी र चिलेको सरकार बिरोधि प्रदर्शनको बारेमा टिप्पणी गर्दै पुटिनले भने  “ल्याटिन अमेरिकामा परिस्थिती छिटो-छिटो परिवर्तन हुने गर्छ । व्यक्तिगत तथा राजनैतिक पक्षधरताको महत्वाकांक्षा उपर यी देशहरुका जनताहरुको हित र चाहनाहरु हावि हुनुपर्छ भन्ने कमनसेन्स र सोचको बिकास हुनु जरुरि छ ।”

पुटिन वासिंगटनको ल्याटिन अमेरिकी नीतिको लामो समय देखिका आलोचक रहदै आएका छन् । अमेरिकाले ‘मुनरो डक्ट्रिन’ अनुसार ल्याटिन अमेरिकी देशहरुलाई सार्वभौमसत्ता सम्पन्न देशहरु भन्दा पनि आफ्नो ‘करेसाबारी’ मान्दै आइरहेको छ । “बोलिभियामा बाहिरि हस्तक्षेप देशभित्रैको केही खराबीको कारणले हुन गएको” र वासिंगटनले बिपक्षीहरुलाई सहयोग पुर्याएको पुटिनको धारणा थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको उदाहरण दिदै रुसी राष्ट्रपति पुटिनले ल्याटिन अमेरिकी देशहरुमा हस्तक्षेप नगर्न र उनीहरुको समस्या उनीहरुलाई नै समाधान गर्न छोडिदिन अमेरिकालाई सुझाव दिएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top