तेह्र दिनकी सुत्केरी विशाकाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वतको कुश्मा नगरपालिका–४, जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । १७ कात्तिकमा गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो ।

शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाव नभएपछि मिर्गौलामा खराबी भएको आशंकामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन् ।

गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो ।

सोही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गर्‍यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो ।
आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन् । तर, शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो ।

अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । आमाको दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई संक्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् ।

विशाका १३ दिनदेखि अस्पतालको आईसीयूमा नै राखिएकी छन् । एक/एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म १ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन् ।

चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलालिस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।

डायलासिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरूले बताएका छन् । तर, मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् ।

शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताइन् ।

‘यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौं, १३ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु,’ सविताले भनिन्, ‘जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो ।’

आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन् । विशाकाका श्रीमान् विनय परियार कुश्मा–बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन् ।

उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।

विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहेकी छिन् । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविताले बताइन् ।

देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छिन् । – रासस

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top