अन्धविश्वास अर्थात् आत्मविश्वासको कमी

  • योगेश खपाङ्गी

त्यसो त अन्धविश्वास, टुना, टोटका जस्ता कुरा संसारभरि नै व्याप्त छ । सन्सारभरि नै घोडाको टाप र चारवटा पातलाई भाग्यको प्रतिक मानिन्छ । त्यसमा पनि खासगरि हिन्दू धर्म मान्नेहरुले पत्याउने भाग्यको प्रतिकको लिस्ट बनाउने हो भने त लामै हुनजान्छ । त्यसमध्ये केहीको चर्चा गरौं ।

स्वस्तिक

स्वस्तिक चिन्हलाई प्राचीन काल देखि नै हिन्दूहरुले मंगलको प्रतिक मान्ने गरेका छन् । त्यसैले हिन्दूहरुले कुनै पनि कामको सुरुवात गर्दा स्वस्तिकको प्रतिक बनाउने गर्दछन् । चाहे नयाँ मोटरसाइकल, गाडी वा नयाँ बही खाता खोल्दा नै किन नहोस्, हिन्दूहरुले स्वस्तिक चिन्ह बनाउँछन् । स्वस्तिक शब्द सु जोड अस जोड क बाट बनिएको छ । यस्को समग्र अर्थ मंगल वा पुण्यकर्म भन्ने अर्थ लगाइन्छ ।

स्वस्तिक हिटलरको प्रिय चिन्ह थियो । त्यसैले फासिवादको प्रतिक पनि स्वस्तिक नै बन्नपुग्यो । जुन चिन्हलाई संसारभरि नै घ्रिणाजन्य नजरले हेरिन्छ । किनकी यो चिन्हसँग लाखौं निर्दोष मान्छेको रगत लतपतिएको छ । भलै हिटलरले प्रयोग गरेको स्वस्तिक चिन्ह केही छड्के छ, तर त्यो स्वस्तिक चिन्ह नै हो । त्यसैले स्वस्तिक चिन्ह कसरी मंगलको प्रतिक बन्न सक्छ ?

शुभ–लाभ

हिन्दूहरुले स्वस्तिकका साथ उत्तिकै महत्वसाथ लेख्ने शव्द शुभ–लाभ पनि हो । ठुलठुला बैंक, फ्याक्ट्री देखि साना–साना पान पसलको ढोका वा गल्लामा स्वस्तिक चिन्हका साथ शुभ–लाभ लेखिएको सर्वत्र देखिन्छ । तर शुभ–लाभ लेखेका सबै व्यवसाय फस्टाएका छैनन् । व्यापार फस्टाउन त व्यावसायीको चतुरता, मिहिनेत, योग्यता र क्षमतामा भर पर्छ न कि शुभ–लाभ शब्दका कारण ।

श्रीयन्त्र

शुभ–लाभका साथै हिन्दूहरुको हरेक पसलमा लक्ष्मीको तस्विर, मुर्तिका साथै श्रीयन्त्र जसलाई श्रीचक्र पनि भनिन्छ, राखेको देखिन्छ । नौवटा त्रिभुज भएको श्रीयन्त्रमा पनि व्यापार बढाएर फलिफाप गराउने कुनै वैज्ञानिक तथ्य फेला पार्न सकिन्न । यो फगत एक अन्धविश्वास मात्र हो ।

थोत्रो जुत्ता

कतिपय अन्धविश्वासीले नयाँ गाडीमा थोत्रो जुत्ता झुन्ड्याएका हुन्छन् । थोत्रो जुत्ताका कारण आफ्नो सवारी साधनमा कसैको पनि नजर लाग्न पाउँदैन, जसले गर्दा दूर्घटनाबाट जोगिन सकिन्छ भन्ने उनिहरुको विश्वास रहन्छ । तर जस्तोसुकै टोटका अपनाएका सवारी साधन पनि थोरै असावधानी गर्दा नै दूर्घटना हुन सक्छ । टोकका राखेर ढुक्कले गाडी चलाउनु मुर्खता सिवाय केही होइन ।

हिड्ने बेलामा दही खानु 

हामीकहाँ कुनै महत्वपूर्ण काम गर्न जानुपूर्व दही खुवाउने चलन छ । दही खानु स्वास्थ्यका कारण ठिकै हो । तर दही सबैलाई उत्तिकै लाभकारी हुन्छ भन्ने छैन । कसै–कसैलाई त्यही अलिकती दही खानाले दिनभरी हाच्छिउँ आएर हैरानी हुनसक्छ । दही खाएर महत्वपूर्ण काममा जाँदा आत्मविश्वास त बढ्ला तर दहीकै कारण आफुले गरेका काम सफल हुन्छ नै भनि ढुक्क मान्नु चैं अन्धविश्वास हुनजान्छ ।

हाच्छिउँ आउनु 

हिड्ने बेला दही खाए पनि हाच्छिउँ आयो भने अपशकुन भएको मानिन्छ । रुघामार्घी लागेर हिड्ने बेलामा हाच्छिउँ आउँदा त घर बाहिर ननिस्किएर घरैमा आराम गर्नु चैं बुद्धिमानी नै हुनसक्ला तर हिड्ने बेलामा सामान्य किसिमले आच्छिउँ आउँदा नै अपशकुन लागेको भनेर आत्मविश्वास गुमाउनु चैं मुर्खता हो ।

माछा हेर्नु/देख्नु 

नेपाल र भारतमा कुनै महत्वपूर्ण व्यक्ति आउँदा होस् द्वारमा माछा राखेर स्वागत गरिन्छ । यो एउटा सामान्य प्रचलनको रुपमा हानिकारक नै कुरा चैं होइन तर यसमा कुनै वैज्ञानिकता देखिदैन । किनकी माछा देख्दैमा शुभ हुने भए माछा व्यापारीको हरेक दिन शुभ नै हुनुपर्ने हो ।

बाटामा शवयात्रा देख्नु 

कुनै महत्वपूर्ण काममा जाँदै गर्दा बाटोमा लास/शवयात्रा देखियो भने शुभ मानिन्छ । कसैको प्रीयजनको मृत्यु भएर शोकमा डुबिरहेको अवस्थामा अर्कालाई चैं सो अवस्था कसरी शुभ हुनजान्छ ? लौ चिन्दै नचिनेका अरु कसैको लास देखियो भने त सामान्य रुपमा लिन सकिएला, तर त्यो लास र मलामीको लर्को आफ्नैहरुको रहेछ भने त्यो बेलामा लास देख्दा शुभ मान्ने कि अशुभ ?

कुकुर रुनु/भुक्नु

हाम्रो समाजमा कुकुर रुनुलाई अपशकुन मानिन्छ । त्यसो त कुनै पनि प्राणी रुनु राम्रो अवस्था होइन । कोही मान्छे वा प्राणी रुनुलाई शकुन र अपसकुनसँग जोड्नु भन्दा मानवीयतासँग जोडेर हेर्नु चैं उपयुक्त हुन्छ । हुनसक्छ रुने व्यक्ति वा कुकुर होस्, उसको समस्यालाई निराकरण गर्ने उपाय खोज्नु पर्छ । अनि अर्को कुरा राती कुकुर भुक्नु अपशकुन मानिन्छ । कुकुरको काम नै चोर, लुटेराबाट भुकेर सचेत गराउनु हो । सामान्यतः त्यसकारण नै कुकुर पाल्ने गरिन्छ । यदी कुकुर भुक्दा अपशकुन हुन्छ भने कुकुर नै किन पाल्ने ?

अन्धविश्वास : आत्म विश्वासको कमी

जो मान्छलाई आफुमा विश्वास हुँदैन, त्यही मान्छे नै जादुटुना, टोटका, पुजापाठमा बढी विश्वास गर्छ । कुनै ठोस र वैज्ञानिक कारण बिना नै हजारौं वर्षदेखि अन्धविश्वास जारी रहनु अशिक्षा र आत्मविश्वासको कमी हो ।

दोष कस्को ?

हजारौं वर्षदेखि हाम्रो समाजमा अन्धविश्वास जारी रहनु विडम्बना हो । अन्धविश्वासको कारण बोक्सी, धामी, झाँक्री, भुतप्रेत जस्ता कुरामा विश्वास गरेर कयौं व्यक्तिले अल्पायुमै ज्यान गुमाउँछन् । अन्धविश्वासको कारण अनगिन्ती व्यक्ति दिनहुँ ठगिइरहेका छन् । यसो हुनु पढेलेखेका मान्छेहरुले जागरुकताको लागि आवाज नउठाउनु वा त्यसको उन्मुलनको लागि राज्यस्तरबाट समेत कुनै पहल नगरिनु नै हो । – ‘समयबद्ध’बाट

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top