बंगलादेशका राष्ट्रपतिले प्रचण्डलाई भने-‘तपाइँ सुन्दर देशको सुन्दर नेता’

काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रसंसा गरेका छन् । नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रपति हमिदले प्रचण्डको प्रसंसा गरेका हुन् ।

राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच राजधानीस्थित होटल मेरियोटमा भेटवार्ता भएको थियो । भेटका क्रममा  दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । आफ्नो नेपाल भ्रमणको चर्चा गर्दै राष्ट्रपति हमिदले नेपाल अत्यन्त सुन्दर मुलुक भएको बताएका थिए । उनले सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै प्रचण्डको उच्च प्रशंसा गरेका थिए ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुद्ध, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताएका थिए । सो अवसरमा उनले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको पनि बताएका थिए ।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top