यसरी टर्यो कुर्दहरु माथिको आम नरसंहारको सम्भावना

  • बासु देव मिश्र

रुसको सोची शहरमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किश राष्ट्रपति रेसेप तैयाप इर्दिगन बीच उत्तर-पुर्बी सिरियामा बसोबास गरि आएका कुर्द जातिहरुको भविष्यबारेमा गत २२ अक्टोबरका दिन एक सहमति हुन पुगेको समाचारहरु बाहिर आएका छन् ।

सो क्षेत्र सिरियन कुर्दहरु बसोबास गर्दै आएको क्षेत्र हो । सिरियाली गृहयुद्धमा कुर्दहरु आइएसआइएस, जबात अल नुश्रा आदि आतंकबादी संगठनहरुको बिरुद्ध लडेका थिए । यद्ध्यपी उनीहरुको सिरियाली सरकारसँग पनि प्रसस्त मतभेद थियो । तर आतंककारीहरुको निशानामा कुर्द, अल्वाइट, शिया साम्प्रदाय, क्रिश्चियन, याजिदी आदि सबै अल्पसंख्यकहरु पर्न गएकोले कुर्दहरुले सरकारसँगका आफ्ना मतभेदहरुलाई थाति राखेर आतंककारीहरु बिरुद्ध लड्ने निर्णय गरे । सरकारले पनि कुर्दहरु माथिको आफ्नो दमनचक्रलाई मत्थर पारेर र उनीहरुका केहि मागहरुलाई स्वीकारेर आइएसआइएस र जबात अल नुश्रा जस्ता सुन्नी साम्प्रादायसँग सम्बन्धित आतंककारी संगठनहरु बिरुद्ध लड्न कुर्दहरुको साथ लिएको देखिन्थ्यो ।

कुर्दहरु कुर्दिश प्रोटेक्सन कमिटिको नामबाट आफ्नो जातिको रक्षार्थ एकजुट भएका थिए । उनीहरुले त्यस कमिटिको अन्तर्गत एक सैनिक शाखा समेत बनाएका थिए, जसलाई येकिनेयेंन परस्टिना जेल (वाईपीजी) नाम दिइएको थियो । टर्किशहरु वाईपीजीलाई टर्किश कुर्दहरुको संगठन पार्टिया कार्केरेन कुर्दिस्तान (पिकेके)को सिरियन शाखा मान्दछन् । पिकेके टर्कीमा सत्तरीको दशक देखिने सशस्त्र रुपले सक्रिय एक मार्क्सवादी संगठन हो ।

अमेरिका लगायतका नेटो देशहरुले बसर अल अस्सादलाई अपदस्थ गर्न सिरियन नेसनल काउन्सिलको नामबाट अस्साद बिरोधिहरुलाई एकत्रित गरेका थिए । तर त्यसमा अधिकांश अस्साद सरकारको मौखिक बिरोध गर्ने ऐयास भलाद्मीहरु, अस्सादको पक्ष त्यागेर हिडेका केहि भ्रष्ट चरित्रका सरकारी तथा सैनिक अफिसरहरु र विदेशमा बसेका कुरौटे सिरियालिहरु मात्र समेटिएका थिए । अमेरिकीहरुले त्यस्ता गफाडी र अल्छीहरुबाट अस्साद सरकार अपदस्थ गर्न मुश्किल हुने देखेर तिनीहरु भित्रैबाट सिरियन डेमोक्र्याटिक फोर्स (एसडिएफ)  निर्माण गरे । एसडिएफको सैनिक शाखाको रुपमा फ्री सिरियन आर्मी (एफएसए) बनाउने अमेरिकीहरुको ठुलो प्रयास रह्यो । तर जति गर्दा पनि अमेरिकीहरुले १० जना पनि सरकारको बिरुद्ध सशस्त्र युद्ध गर्ने मानिसहरु पाएनन् ।

तर अस्साद सरकारलाई अमेरिकीहरु जसरि पनि नढालि नछोड्ने प्रतिज्ञामा थिए । तसर्थ उनीहरुले एफएसएलाई हतियार उपलब्ध गराउने भन्दै अल नुश्रा र आइएसआइएसको हातमा हतियार र अन्य लजिस्टिक सामान पुर्याउन थाले । तसर्थ सिरियन सरकार सन् २०१५ को सेप्टेम्बरसम्म रक्षात्मक अवस्थामा रह्यो ।

सन् २०१५ को सेप्टेम्बर सम्म जसोतसो सिरियाली सरकार र कुर्दहरुले आतंककारीहरुको सामाना गर्दै आइरहेका थिए । सेप्टेम्बर २०१५ मा बसर अल अस्साद सरकारले रुसी सरकारसँग औपचारिक रुपमै पत्र लेखेर सहायता मागे पछि रुसलाई आफ्नो मित्र सिरियामा खुलेर सबै प्रकारको सहयोग गर्न बाटो खुल्यो । अस्सादलाई लिबियाका गद्दाफीको नियतिमा पुर्याउन पश्चिमी देशहरुले संयुक्त राष्ट्रसंघको अनुमति प्राप्त गर्ने ठुलो जमर्को नगरेका पनि होइनन् । तर लिबियन संकटमा धोका खाएका रुस तथा चीनले पश्चिमी चालबाजी सिरियाको सन्दर्भमा सफल हुन दिएनन् । घरि ‘नो फ्लाई जोन’को प्रस्ताव गरेर, घरि मानव अधिकारको दुहाइ दिएर र घरि सिरियन सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै पश्चिमी गठबन्धनले सिरियामा छिरेर अस्सादलाई अपदस्थ गर्ने दाउ हेरिरह्यो । तर यी सबै षड्यन्त्रहरुलाई चिर्न रुस र चीन सफल भएका थिए ।

जसै सिरियन सरकारको औपचारिक निम्तोमै रुसी हवाई सेना २०१५ को सेप्टेम्बर ३० मा सिरिया भित्रियो अनि युद्धको पासा अस्सादको पक्षमा पल्टियो । यसअघि नै  अमेरिकीहरु इराकबाट सिरियामा प्रवेश गरिसकेका थिए । तर उनीहरु यस तथ्यलाई बारम्बार इन्कार गर्दै आइरहेका थिए । रुसी हवाई सेनाको सिरियामा औपचारिक प्रवेश पछि भने अमेरिकीहरुले सिरियामा कुर्दहरुको रक्षार्थ भन्दै सिरियामा आफ्ना सेना रहेको स्विकार्न बाध्य भयो । यद्यपि यो कुनै ठुलो संख्यामा थिएन र अमेरिकी सेनाको न्यून संख्याको उपस्थितीले सिरियन गृहयुद्धमा कुनै तात्विक भिन्नता ल्याउने हैसियत पनि राख्दैनथ्यो । सिरियन सरकार आफै कम्जोर रहेको अवस्थामा अमेरिकी सेनाको प्रवेशको प्रतिवाद गर्ने सामर्थ्य राख्दैनथ्यो । सिरियन कुर्दहरुलाई पनि आतंकारी संगठनहरु र टर्किशहरुको हमलालाई एक साथ झेल्न बाध्य भैरहेको अवस्थामा अमेरिकीहरुको उपस्थितीले कमसेकम टर्किस दमनबाट बच्न सकिएला भनेर अमेरिकी सहायताको विपक्षमा देखिएनन् । हुनपनि टर्कीलाई अमेरिकाको कुर्दिश क्षेत्रमा भएको उपस्थितीले हुनसम्मको समस्या देखा परेको थियो । किनकि कुर्द सैनिक पोष्टहरुमा आक्रमण गर्दा अमेरिकीहरुको कभरलाई छिचोलेर जानुपर्ने टर्कीलाई बाध्यता आइपरेको थियो । अमेरिकी उपस्थितीले कुर्दहरुको सामरिक क्षमातामा उल्लेख्य वृद्धि भने भएको थियो ।

वास्तवमा अमेरिकीहरु उत्तपूर्वी सिरियाको कुर्दिश बहुल क्षेत्रमा बसर अल अस्सादको बिकल्प खोज्न गएको कुरामा कसैले द्वीमत राख्दैनन् । अस्सादको सरकार गिराउने शक्तिको खोजीमा सिरिया भित्र जति मेहनत गर्दा पनि केहि नलागेपछि मात्र कुर्दहरु सिरिया सरकारको स्थायी दुश्मन भएको ठहर गर्दै उनीहरुबाट आफ्नो मुराद पुरा होला भनेर अमेरिकीहरुले वाइपिजिलाई अंकमाल गरेका मात्रै थिए । अन्यथा आफैले टर्किश कुर्दहरुको संगठन पिकेकेलाई एक आतंककारी संगठन भनेर उसका गतिविधिमाथि निगरानी र उसको सम्पत्ति माथि रोक लगाएकोमा त्यसैको सिरियन शाखा प्रति यति धेरै ममता नछचल्किनु पर्ने हो । यो आफैमा एक रहस्यमय र हास्यास्पद पहेली हो ।

जे होस्, रुसको अहम् सहायताले सिरियन अरब आर्मीले सिरियालाई आतंककारीहरुबाट मुक्त गरेपछि कुर्दहरुको लागि अझै ठुलो ढाडसको आवस्यकता परेको बेला अमेरिकीहरु भने आफ्नो अस्सादलाई पल्टाउने मिसन अब कुनै हालतमा पुरा नहुने देखेपछि त्यहाँबाट फिर्ता हुने तरखरमा लागे । अमेरिकीहरु सिरियामा ‘स्वागत नगरिएका पाहुनाहरु’ मात्रै थिए । सिरियाबाट आतंककारीहरुलाई लखेट्नमा कुर्दहरुको भूमिका नभएको भने होइन ।

टर्की भने कुर्दहरु कम्जोर भएको देख्न चाहन्थ्यो । किनभने टर्किश सरकार शुरुदेखि नै कुर्दिशहरु प्रति अनुदार रही आएको थियो । त्यसमाथि देशभित्र कुर्दिशहरुको बलियो सशस्त्र संगठन पिकेकेसँग टर्किश सरकार संघर्षरत् थियो । त्यसमाथि सिमा पारि सिरियाली क्षेत्रमा अमेरिकी हातहतियारले सुसज्जित अर्को बलियो कुर्दिश संगठनको उदय हुनु उसको लागि भयङ्कर खतराको सूचक थियो । तसर्थ अमेरिकीहरु सिरियाली भुमिबाट निस्कने भएपछी टर्कीले तुरुन्तै कुर्दहरुलाई ठेगान नलगाएमा भविष्यमा टर्कीको विभाजन सन्निकट भएको टर्कीको ठहर रहेको देखिन्छ । तसर्थ ६ अक्टोबरका दिन ट्रंप प्रशासनले आफ्ना सेना सिरियाबाट वापस लैजाने घोषणा गरेको लगत्तै ३ दिन पछि टर्कीले अक्टोबर ९ तारिखका दिन ‘अपरेसन पिस स्प्रिंग’का नामबाट कुर्दिश लडाकु र जनतामाथि भयङ्कर बमबारी गर्न शुरु गरि हाल्यो ।

टर्किश हवाई हमलाको शुरु कै चरणमा उत्तरपूर्वी सिरियाका रास अल अयन, सुलुक, तेल अब्याद र माब्रोउका लगायतका ६८ बस्तिहरुमा बमबारी गरि करिब एकसय जनाको ज्यान लिएको थियो । करिब १ लाख ३० हजार मानिसहरु घर छोडी भाग्न बाध्य भएका थिए । टर्कीको यस हवाई कारबाहीको युरोपियन युनियन, अरब लिग, इरान, भारत, बेलायत, इजरायल लगायतका देशहरुले निन्दा गरेका थिए भने तुर्कभाषी देशहरुको संगठन (तुर्किक काउन्सिल) भित्रका अजरबैजान, कजाखस्तान, उज्वेकिस्तान, किर्घिज्स्तान र सोहि संगठनका अब्जर्भर देशहरु हंगेरी तथा तुर्कमेनिस्तान र पाकिस्तानले भने टर्किश हमलाको समर्थन गरेका थिए ।

यस हवाई आक्रमणको ४ दिन पछि नै अर्थात् १३ अक्टोबरका दिन असहाय कुर्दहरु फेरी अस्सादको शरणमा पुगे । उनीहरु बीच टर्किश हमलाको संयुक्त रुपमा प्रतिकार गर्ने सहमति बन्यो । त्यसको लगत्तै सिरियन सेना सिमावर्ती राक्वा, मंबिज, कोबानी, अल-थ्वराह, तेल तामेर, अयन इस्सा आदि शहरहरुमा पेट्रोलिंग गर्न पुग्यो । यसबाट रुसले समर्थन गरेको सरकारी पक्ष र टर्किश फौज बीचमा युद्धको सम्भावना देखिएकोले रुसी राष्ट्रपति पुटिन सो संघर्षलाई टाल्न सक्रिय बने । रुसले १५ अक्टोबरका दिन आफ्ना सेनाहरुलाई सम्भावित युद्द मैदानमा तैनाथ गर्यो । युरोपियन युनियनले टर्की माथि हतियारको इम्बार्गो लगायो । स्वयम् अमेरिकाले टर्कीलाई कारबाही गर्ने घोषणा गरेर चारै तर्फबाट टर्की माथि दवाब सिर्जना गरियो ।

१७ अक्टोबरका दिन अमेरिकी उपराष्ट्रपति माइक पेन्स अन्कारा पुगेर टर्कीलाई ५ दिनको लागि युद्ध बिराम गर्न मनाए । २२ अक्टोबरका दिन रसियन राष्ट्रपति पुटिन र टर्किश राष्ट्रपति इर्दोगन बीच रुसको तटवर्ती शहर सोचिमा बहुतै महत्वपूर्ण सहमति भयो ।

यो सहमति अनुसार टर्कीको ‘अपरेसन पिस स्प्रिंग’ एकदम सिमित क्षेत्रमा मात्र हुने, रसियन मिलिटरी पुलिस र सिरियन सुरक्षा फौजहरुले उत्तरपूर्वी सिरियाको कुर्द बहुल क्षेत्रको पेट्रोलिङ्ग गर्ने, सिरियाको सार्वभौमिक अखंडताको संरक्षण गरिने, टर्किश-सिरियन बोर्डर देखि ३० किमि सिरियन भूमि भित्र कुर्द लडाकुहरु रहनुपर्ने, सिरियन सुरक्षा फौजले सिमानाको रेखदेख गर्ने, सिमानाको १० किमि भित्रका केहि सिमित ठाउँहरुमा टर्किश फौजले रसियनहरुसँग मिलेर संयुक्त गस्ती गर्ने,  कुर्दिश फोर्सेस र अमेरिकीहरुद्वारा पक्राउ गरिएका कुनै पनि आतंककारीहरुलाई उम्कन नदिने र अन्तत: सिरियाबाट सबै बिदेशी सेना पूर्ण बाहिरिने आदि बुँदाहरु समेटिएका छन् ।

यो सहमतिको सिरियन सरकारले तत्कालै समर्थन गरेको छ । वाईपीजी समेत यस सहमतिलाई नकार्न सक्ने हैसियतमा छैन । टर्कीले माग गर्दै आएको बफर जोन तत्कालको लागि प्राप्त गरेको छ । रुसलाई उसले चाहेको जस्तो सिरियाको संरक्षकको भूमिका मिलेको छ र त्यहाँबाट बिदेशी सेना हटाउने र सिरियाको मामिलामा पश्चिमी हस्तक्षेपलाई निष्प्रभावी बनाउने रुसको मनसाय पुरा भएको छ । तत्कालको लागि त्यहाँ फेरी अर्को मारकाटको सम्भावना टरेको छ ।

कुर्दहरुलाई यसरि बेसहारा छोडेर जानु अमेरिकीहरुको विश्वासघात थियो । कुर्दहरुले यसलाई धोकाको रुपमा लिएका छन् । यसको प्रतिक्रिया स्वरुप अमेरिकीहरु सिरिया छोडेर इराक प्रवेश गर्दा रुष्ट कुर्दहरुले आलुका दाना र ढुंगामुडा अमेरिकी सैनिक बाहनहरु माथि फ्याँकेको टेलिभिजनमा देखिएको थियो ।

साथै इराकी सरकारले पनि अमेरिकीहरु अवैधानिक किसिमले इराकमा प्रवेश गरेकोले उनीहरुले छिट्टै इराक छाडेर जानुपर्ने भनाइ राखेको छ । यसबाट त्यस क्षेत्रमा अमेरिकी विश्वसनियता माथि भारि ह्रास आएको र रुसको सक्रियताले  अरब संसारमा सकारात्मक प्रभाव पारेको देखिदैछ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top