उपनिर्वाचन : दलहरुलाई उम्मेदवार छनोटमै सकस

  • साहस न्यौपाने

काठमाडौँ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ताको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु उम्मेदवार छनोट प्रक्रियामा जुटन थालेका छन् । मनोनयन दर्ताका लागि मात्र दुई साताको समय बाँकी भए पनि प्रमुख दलहरुले अहिलेसम्म उम्मेदवार छनोट गर्न भने सकेका छैनन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गतेको मिति सार्वजनिक गरिसकेको छ ।

कास्की–२ प्रतिनिधिसभाका लागि साझा पार्टीले उम्मेदवार चयन गर्नुबाहेक अन्य पार्टीले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् । पार्टीहरुले उम्मेदवार छनोट गर्न नसक्नुमा आकांक्षीको संख्या अत्याधिक हुनु नै हो । कास्की-२ मा नेपाली कांग्रेसले १६ जना आकांक्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरेर पठाउनुले पनि दलहरुलाई उम्मेदवार चयनमा परेको सकस सजिलै बुझ्न सकिन्छ । कांग्रेसमा जस्तै नेकपामा पनि आकांक्षी धेरै हुँदा सो क्षेत्रमा अहिलेसम्म सम्भावित उम्मेदवारको नामसमेत सिफारिस हुन् सकेको छैन ।

कास्की-२ मा मात्र होइन उपनिर्वाचन हुने अन्य तीन प्रदेशसभा क्षेत्रमा पनि दलहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न सकेका छैनन् । प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा उपनिर्वाचन हुँदैछ । उम्मेदवार सिफारिस भएका केही निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत हुन् नसक्दा जिल्ला तथा प्रदेश कमिटीले सबै आकांक्षीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

पार्टीभित्रका विभिन्न गुट-उपगुट र उम्मेदवार बन्न जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने प्रवृतिका कारण उम्मेदवार छनोटमा सबैभन्दा बढी सकस नेकपा र कांग्रेसलाई नै पर्ने देखिन्छ । यी दुई दललाई उम्मेदवार छनोट गर्न फलामको च्युरा चपाउनु सरह हुने निश्चित छ । हुन् त नेकपाको सचिवालयको बैठकले कात्तिक १० गतेको समयसीमा तोकेर सम्भावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । यद्यपी उम्मेदवार छान्न दिएको समयसिमा सकिन लाग्दा पनि ति कमिटीहरुले अझै नाम सिफारिस गर्न सकेका छैनन् ।

यता प्रमुख प्रतिपक्ष दल कांग्रेसमा पनि सहज रुपमा उम्मेदवार छनोट हुने सम्भावना कमजोर देखिन्छ । यसअघि संसदीय बोर्डले उम्मेदवार छनोट गर्ने गरेको कांग्रेसको संसदीय बोर्ड यतिबेला विघटित अवस्थामा छ । २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बोर्डले टिकट वितरणमा गल्ती गरेका कारण हार ब्यहोरेको भन्दै अधिकांश केन्द्रीय सदस्यको दबाबका पछि बोर्ड विघटन भएको हो । उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय नै विघटनको अवस्थामा हुँदा कांग्रेस अलमलमा देखिन्छ । हुन् त बुधबार मात्र कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार छान्न संयन्त्र बनाउने निर्णय गरिसकेको छ ।

उपनिर्वाचनको मिति नजिकिए पनि प्रमुख दलहरुले उम्मेदवार छनोटमा ढिलाई गर्दा खासै चुनावी रौनक देखिएको छैन । गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा र देशभर अप्रत्यासित हार बेहोरेको कांग्रेस यतिबेला आन्तरिक रुपमा चुनावी रणनीति बनाउन जुटेका छन् ।

गत निर्वाचनमा तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत केही साना वामपन्थी दलहरुबीच गठवन्धन भएको थियो । कांग्रेसले पनि राप्रपा लगायत केही साना दलसंग गठवन्धन बनाएको थियो । तत्कालिन वाम गठवन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच एकता भएर अहिले नेकपा बनिसकेको छ । नेकपाले जनामोर्चालगायतका दलहरुसंगको गठबन्धन के गर्छ अझै प्रष्ट रुपमा बाहिर आएको छैन । कांग्रेसले पनि एक्लै चुनाव लड्छ अथवा गत निर्वाचनको गठवन्धन कायमै राख्छ त्यो अझै खुलेको छैन ।

मङ्सिर १४ को उपनिर्वाचनलाई धेरैले मिनी निर्वाचनसमेत भनेका छन् । दलहरुप्रति जनताको विश्वास ह्रास हुँदै गैरहेको भनिएका बेला यो निर्वाचन दलहरुलाई आफ्नो लोकप्रियता कायम राख्ने उपयुक्त माध्यम पनि बन्न सक्छ । त्यसैले त, सत्तारुढ नेकपालेलाई यसअघि आफूले जितेका क्षेत्र जोगाउने चुनौती छ भने प्रतिपक्षी कांग्रेसलाई पनि आफ्नो पुरानो साख फर्काउने चुनौती छ । मुख्य प्रतिष्पर्धी यी दुई दलले कसरी उम्मेदवार चयन गर्लान् र निर्वाचनको नतिजा कसको पोल्टामा जाला त्यो भने हेर्न बाँकि नै छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top