बलात्कार र हत्या अभियुक्त लिलाराज १९ वर्षपछि अमेरिकाबाट पक्राउ

काठमाडौं । बलात्कार पछि हत्या गरेर अमेरिका फरार भएका एक जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीको बलात्कारपछि हत्या गरी अमेरिकामा पुगेका चन्द्रगढी–३ कै लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरि नेपाल पठाएको हो ।

नेपाल प्रहरीले गौतम बलात्कार र हत्या अभियोगमा फरार अभियुक्त भएको भन्दै इन्टरपोलमा सूचना जारी गरेको थियो । उनलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीसमक्ष बुझाएको हो ।

इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यु्रिटीको हिरासतमा राखिएको थियो ।

उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । २९ असोज, २०५७ राती गौतमसहित मनोज खड्का र सीताराम खड्काले राजवंशीको सामूहिक बलात्कार गरी घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए । मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिएका थिए । २१ कात्तिक, २०५८ मा जिल्ला अदालत झापाले गौतमलाई सफाइ दिएको थियो ।

पुनरावेदनमा पनि सफाई पाएका गौतमलगायतलाई १९ भदौ २०६६ मा सर्वोच्च अदालतले भने जन्मकैदको फैसला सुनाएको थियो । गौतम सोही समयमा फरार थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top