पारस भन्छन्, ‘अबको कप्तान ज्ञानेन्द्र मल्ल’

काठमाडौं । नेपाली क्रिकेटमा नयाँ सुरुवातका लागि भन्दै टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले अबको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाउँदा उपयुक्त हुने बताएका छन् । उनले कम्तिमा एक वर्ष नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नुपर्ने बताए ।

सन् २००९ देखि नेपाली टोलीको कप्तान रहेका खड्काले मंगलबार पद छोडेको घोषणा गरेका हुन् । खड्काले  कप्तानबाट राजीनामा दिने निर्णय आफूले हतार या अप्रत्यासित रुपमा नलिएको पनि बताए ।

हाल नेपाली टीमको उपकप्तान रहेका ज्ञानेन्द्रलाई कप्तान बनाउनु उपयुक्त हुने बताएका खड्काले कसलाई बनाउने भन्ने निर्णय नेपाल क्रिकेट संघ र छनोटकर्ताहरुको भएको बताए । उनले दीपेन्द्रसिंह ऐरिलगायत अरु पनि क्षमतावान खेलाडी कप्तानका लागि उपयुक्त हुने बताए ।

नेपाली क्रिकेटले हाल हासिल गरेको सफलताको सारथी बनेका खड्कालाई सफल कप्तानका रुपमा लिइन्छ । उनलाई एसोसिएट टिममध्येकै सबैभन्दा उत्कृष्ट कप्तानका रुपमा समेत हेर्ने गरिन्छ ।

खड्काले नयाँ सुरुआतका लागि भने पनि उनको राजिनामा संगै नेपाली टिमको भविष्यका बारेमा प्रश्न उठ्न थालिसकेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top