पारसको दुर्लभ शतक : अरु ठूला रेकर्ड पनि उनैको नाममा

काठमाडौँ । टि-२० क्रिकेटमा शतक बनाउनु निकै दुर्लभ मानिन्छ । क्रिकेटको यो फर्म्याटमा जम्मा १२० बलको खेल हुने हुँदा विश्वस्तरीय व्याट्सम्यानका लागि पनि शतक बनाउनु कठिन हुन्छ । टि-२० मा शतक बनाउने अवसर निकै कम खेलाडीलाई मिल्छ । थुप्रै भेट्रान ब्याट्सम्यानहरु यस अवसरबाट वञ्चित छन् । तर, टि-२० प्रतियोगितामा निकै दुर्लभ मानिने शतक प्रहार गर्ने खेलाडीको सूचीमा अटेका छन्, नेपाली टोलीका कप्तान पारस खड्का ।

सिंगापुरमा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत शनिबार भएको सिंगापुरविरुद्धको खेलमा अविजित १०६ रनको महत्वपूर्ण पारी खेल्दै कप्तान खड्काले कयौ विश्वस्तरीय ब्याट्सम्यानले बनाउन नसकेको किर्तिमानी शतक बनाए । कप्तान खड्काले मात्र ५२ बलमा अविजित १०६ रन बनाउदै उत्कृस्ट खेल प्रदर्शन गरे । यो शतकसंगै कप्तान खड्काले नयाँ विश्वकिर्तिमान पनि बनाए । खेलमा नेपालले आयोजक सिंगापुरलाई ९ विकेटको विशाल अन्तरले पराजित गर्दा  कप्तान खड्का नायक सिद्ध भए ।

शतक बनाएसंगै नेपाली क्रिकेटको पर्यायको रुपमा चिनिने कप्तान खड्का अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालका तर्फबाट शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । टि-२० अन्तर्राष्ट्रियमा पारसको नाममा ३ वटा अर्धशतक पनि रहेको छ । एउटा भन्दा बढी अर्धशतक बनाउने उनी नेपालका पहिला खेलाडी पनि हुन् ।

कप्तान खड्काको नाममा अर्को पनि किर्तिमान रेकर्ड भएको छ । उनी नेपालका लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । उनले यसअघि आफैले बनाएको ८६ रनको रेकर्ड तोडेका हुन् । कप्तान खड्का टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् ।

खड्काले टि-२० अन्तर्राष्ट्रियको एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यानको अर्को किर्तिमान पनि बनाए । सिंगापुरविरुद्धको खेलमा उनले कुल ९ छक्का र ७ चौका प्रहार गरे । यसअघि बिनोद भण्डारी र खड्का स्वयंका नाममा रहेको समान ५ छक्काको रेकर्ड उनले तोडेका हुन् ।

कप्तान खड्काको नाममा अर्को पनि ठूलो रेकर्ड बनेको छ । टि-२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउदै ब्याटिङ गर्ने क्रममा शतक बनाउने उनी विश्वकै पहिलो कप्तानसमेत बनेका छन् । यसअघि विश्वका कुनै पनि ब्याट्सम्यानले लक्ष्य पछ्याउदा शतक बनाउन सकेका थिएनन् । लक्ष्य पछ्याउने क्रममा कप्तान खड्काले बनाएको १०३ रन विश्वकै सातौँ ठुलो व्यक्तिगत स्कोर पनि हो । यसअघि अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले बनाएको १०३ रनको रेकर्ड तोड्दै पारस सातौं स्थानमा उक्लिएका छन् ।

सिंगापुरविरुद्ध ९ विकेटको जित हात पार्दा नेपाली टिमका लागि पनि रेकर्ड बन्यो । यो जित टि-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो विकेट अन्तरको जितसमेत हो । यसअघि नेपालले मलेसियालाई २ पटक ७ विकेटले तथा कुवेतलाई १ पटक ७ विकेटले पराजित गरेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top