मडुरोले दिए पुटिनलाई सिमोन बोलिभारको तरवार उपहार

रुसको भ्रमणमा रहेका भेनेज्वेलाका राष्ट्रपति निकोलस मडुरोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान स्वरूप सिमोन बोलिभारको तरवारको रेप्लिका उपहारमा दिएका छन् ।

सिमोन बोलिभार ल्याटिन अमेरिकामा सर्वाधिक सम्मान गरिएका एक सैनिक जनरल तथा राजनैतिक नेता थिए । बोलिभारले १९ औं  शताव्दीको शुरुमा स्पेनिश साम्राज्यबाट हालका भेनेज्वेला, कोलम्बिया, बोलिबिया, इक्वेडोर, पानामा र पेरुलाइ स्वतन्त्र बनाउने आन्दोलनको नेतृत्वकर्ता थिए ।

भेनेज्वेलाका राष्ट्रपतिको मस्को भ्रमणको अबधिमा दुई देशबीच धेरै विषयमा पारस्पारिक सहयोगको क्षेत्रमा सहमति भएको समाचार बाहिर आएको छ ।

दिनभरको कडा मेहनत पश्चात रुसको भ्रमणबाट प्राप्त उपलब्धिको बारेमा राष्ट्रपति मडुरोले आफ्ना देशवासीहरुलाई ट्विटरमार्फत एक सन्देश प्रेषित गरेका थिए । ट्विटमा उनले आफू रुसी राष्ट्रपति पुटिनसंग रणनैतिक सहयोगको सहमतिको बिन्दुमा पुगेको उल्लेख गरेका छन् ।

‘हामीहरु २०१९ को विजयपथको उच्चबिन्दुमा पुगेका छौं । यस सहमतिले आउदो वर्ष भित्रै हामीले पुन: समृद्धि प्राप्त गर्नेछौं’, उनको ट्विटर सन्देशमा लेखिएको , ‘यसले आगामी दिनहरुलाई अत्यन्त सरल पार्नेछ । आजको दिन अत्यन्तै महत्वको रह्यो । सबै देशबासीहरुलाइ अंकमाल ।’

क्रेमलिनमा बुधबार भएको सहमतिले पारस्पारिक सहयोगको फ्रेमवर्कलाइ मजबुत बनाएको दावी गरिएको छ । दुवै देशका उच्च पदस्थ अधिकारीहरुको कडा मेहनत पछि यस्तो परिणाम निस्केको बताइएको छ । रुसी राष्ट्रपतिले राष्ट्रपति मडुरोसंग सिधा तथा व्यक्तिगत सम्पर्क कायम हुन गएकोमा आफूलाई खुशी लागेको बताएका छन् ।

अमेरिकाद्वारा खडा गरिएको व्यवधानका बाबजुद पनि हालका महिनाहरुमा रुस-भेनेज्वेला ब्यापार दश प्रतिशतले वृद्धि भएको थियो । कृषि सामाग्रीको ब्यापार बढेको समेत समाचारमा भनिएको छ । फार्म प्रोडक्टको अलावा रुसबाट आवश्यकीय औषधी र भ्याक्सिनसमेत उपलब्ध गराइएको रुसी राष्ट्रपति पुटिनको भनाइ छ ।

दुवै नेताको बैठकको सबैभन्दा महत्वपूर्ण क्षण उपहारको आदानप्रदानलाई बिशेष हाइलाइट गरिएको थियो । सो अवसरमा सिमोन बोलिभारले सन् १८२१ मा काराबोबोको लडाईमा प्रयोग गरेको तरवारको नमुना राष्ट्रपति पुटिनलाई दिइएको थियो । पुटिनले भेनेज्वेलाप्रति गरेको समर्थन र सार्वभौमसत्ता सम्पन्न जनताको आत्मनिर्णयको अधिकारको सम्मान गरेका कारण उक्त उपहार प्रदान गरिएको संचार माध्यमहरुले लेखेका छन् । काराबोबोको लडाई भेनेज्वेलाको स्वतन्त्रताको कोशेढुंगा थियो ।

गत वर्षको डिसेम्बरमा दुई नेताको भेटघाट हुँदा ५ बिलियन डलर बराबरको तेल उत्पादनको सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसको लगत्तै अर्को महिना अमेरिकीहरुको प्रत्यक्ष सहयोगमा त्यहाँ हुआन गुएडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

अहिलेको सहमति अनुसार रसियन खनिज कम्पनीहरुले भेनेज्वेलामा एक बिलियन डलर लगानी गर्ने छन् । राष्ट्रपति पुटिनका अनुसार भेनेज्वेलामा अहिलेसम्म रुसी लगानी ४ बिलियन डलर पुगेको छ ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top