फ्रान्सका पूर्व राष्ट्रपति शिराकको निधन

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक्स शिराकको निधन भएको छ । शिराकको ८६ वर्षको उमेरमा बिहीबार निधन भएको उनको पारिवारिक श्रोतलाई उद्दृत गर्दै विभिन्न संचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् ।

सन् १९३२ मा पेरिसको एक मध्यमवर्गीय परिवारमा जन्मेका शिराकले १८ वर्षकै उमेरमा फ्रेन्च कम्युनिष्ट पार्टीसंग जोडिएर आफ्नो राजनैतिक यात्रा शुरु गरेका थिए । सन् १९५० मा सोभियतहरुबाट प्रभावित भएर शुरु भएको आणविक हतियार नष्ट गर्ने स्टकहोम अपिलमा उनले हस्ताक्षर गरेका थिए । यहि कारण देखाएर अमेरिकाले उनलाई अमेरिका प्रवेश गर्ने प्रवेशाज्ञा दिन अस्विकारसमेत गरेको थियो ।

सन् १९५३ मा पेरिसको पेरिस इन्स्टिच्युट अफ पोलिटिकल स्टडिजबाट ग्र्याजुएसन गरेपछि शिराकले हर्वार्ड युनिभर्सिटीमा अल्पकालको लागि अध्ययन पनि गरेका थिए ।

शिराकले एक रिजर्भ मिलिटरी अफिसरको रुपमा सेनामा समेत काम गरेका थिए । सेनामा प्रवेश गरेको पहिलो वर्षमै रिजर्भ फोर्सको अफिसर भएता पनि उनलाई अल्जेरियाको युद्धमा भाग लिनु पर्यो । उनका हाकिमहरुले उनी कम्युनिष्टप्रति झुकाव राख्ने व्यक्ति भएकोले उनको पदोन्नति रोकेका थिए । यसबाट उनी सन्तुष्ट भएनन् र सन् १९५९ मा सिविल सर्भिसमा समावेश भए ।

सन् १९६२ मा शिराक तत्कालिन प्रधानमन्त्री जर्ज पम्पिडुको सम्पर्कमा आए र उनको कार्यशैलीबाट प्रभावित पम्पीडुले उनलाई आफ्नो प्रचार प्रमुख बनाए । उनै पम्पिडुले उनलाई कम्युनिष्ट विचारबाट उदारवादी कन्जरभेटिभ बिचारमा तानेका थिए ।

सन् १९७१ मा पहिलो पटक क्याबिनेटमा स्थान पाएका शिराकलाई भेलरी जिस्कार्ड देस्ताको राष्ट्रपतित्व अन्तर्गत सन् १९७४ मा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो । सन् १९७६ सम्म उनी फ्रान्सको प्रधानमन्त्रीकै हैसियतमा कार्यरत रहे ।

सन् १९७७ मा राष्ट्रपति देस्ताले पेरिसमा मेयर पदको सृजना गरे । यो पद १८७१ को पेरिस कम्युन पछि स्थगनमा परेको थियो । किनभने राजधानीमा निर्वाचित मेयरले बढी राजनैतिक अधिकार हडप गर्छ भन्ने फ्रान्सको केन्द्रीय राजनीतिमा सन्देह थियो । जे भए पनि राष्ट्रपतिको यो निर्णयले शिराकलाई राजनैतिक फाईदा नै भयो । यसैको जगमा उभिएर उनी फ्रान्सको राष्ट्रपति भए ।

उनी सन् १९८४ मा मित्तेराको राष्ट्रपतिकालमा दोश्रो पटक फ्रान्सको प्रधानमन्त्री भएका थिए ।

अन्तत: सन् १९९५ मा शिराक फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भए । उनले सन् २००२ मा भएको अर्को निर्वाचनमा समेत जित हात पारे । सन् २००७ सम्म लगातार १२ वर्ष गणतन्त्र फ्रान्सको राष्ट्रपतिको रुपमा देशको सेवा गरे ।

शिराकको राजनैतिक यात्रा वामपन्थी कम्युनिष्ट धारबाट शुरु भयो । तर उनको राजनैतिक उत्थान भने दक्षिणपन्थी धारमा समाहित भएपछि मात्र भएको थियो । अर्को महत्वपूर्ण तथ्य देशको प्रधानमन्त्री भैसकेका शिराक पेरिस शहरको मेयर भएर पनि जनताको सेवामा भने अनवरत: लागिरहे ।

शिराक अमेरिकाद्वारा निर्देशित विदेश नीतिलाई चुनौती दिने नेताको रुपमा विश्वभर चिनिन्छन् । उनको कार्यकालभर फ्रान्सले स्वतन्त्र विदेश नीति अवलम्बन गरेको थियो । उनले सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको हमलाको विरोध गरेका थिए । उनी बैदेशिक मामिलामा युरोपियनहरुको आफ्नै अडान हुनुपर्ने विचारप्रति प्रतिवद्ध थिए ।

सन् २००० मा पेरिसको चार्ल्स देगाल अन्तर्राष्ट्रिय विमानस्थलमा शिराग र उनकी श्रीमती चढेको बोइङ्ग-७४७ जेट झन्डै आगोको लपेटामा परेको कनकोर्ड विमानसंग ठोकिन जाँदा मुस्किलले बचेका थिए । त्यसैगरी सन् २००२ मा बास्तिल डे मनाउन जाँदा उनको मोटर्केडमाथि एकजना बन्दुकधारीको गोली प्रहारबाट पनि उनी बाँचेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top