ट्रम्पमाथि महाभियोग लाग्न सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमयेर जेलेन्स्कीबीच गत २५ जुलाईमा भएको गोप्य टेलिफोन वार्ता बाहिरिए पछि अमेरिकामा खैलाबैला मच्चिएको छ । उक्त टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आफ्नो अनुकूल हुने गरी जेलेन्स्कीलाई काम गरिदिन अनुरोध गरेको विषयले अहिले ठूलो बहसको रुप लिएको छ । आगामी सन् २०२० को चुनावलाई  प्रभावित हुने गरि दुई राष्ट्रपतिबीच भएको कुराकानीलाई लिएर डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिमाथि महाभियोग लगाउने तयारी गरेको बताइएको छ ।

गत २५ जुलाईमा दुवै राष्ट्रपतिबीच भएको फोनवार्ताको ट्रान्स्क्रिप्ट बाहिर आइसकेको छ । वार्ताको क्रममा वर्तमान युक्रेनियन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रशासनसंग राम्रो सम्बन्ध बनाउने उद्धेश्यले एन्टी-ट्याङ्क हतियार ज्याभेलिन मिसाइल खरिद गर्ने इच्छा प्रकट गरेका थिए । यसको जवाफमा ट्रम्पले युक्रेनको साइबर सेक्युरिटी कन्ट्र्याक्टर क्राउड्स्ट्राइकतर्फ संकेत गर्दै युक्रेनिएन राष्ट्रपति त्यस्ता मानिसहरुबाट घेरिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

आफ्नो भनाइलाई प्रमाणित गर्न ट्रम्पले क्राउड्स्ट्राइकले अमेरिकी आन्तरिक गुप्तचर संस्था एफबिआइलाई तथ्यांक उपलब्ध गराउन नमानेको बताएका थिए । उनले क्राउड्स्त्राइक युक्रेनका ओलिगार्चहरुको पकडमा रहेको समेत बताएका थिए ।

कुराकानीकै क्रममा युक्रेनको सबैभन्दा ठूलो उर्जा कम्पनी बुरिस्मा होल्डिङ्ग्समा भएको भ्रष्टाचारको कुरा जोडिन पुगेको थियो । बुरिस्मा होल्डिङ्ग्सको एकजना डाइरेक्टरमा पूर्वअमेरिकी उपराष्ट्रपति जोसेफ बाइडनका छोरा हन्टर बाइडन पनि छन् । बुरिस्मा होल्डिङ्ग्समा भएको घोटालालाई नजिकबाट हेरिरहेका युक्रेनका महान्याधिवक्ता भिक्टर शोकिनलाई बर्खास्त नगर्ने हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनको लागि स्वीकृत गरिसकेको १ बिलियन डलर ऋण सहयोग रोकिदिने युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोलाई हन्टरले धम्कि दिएको कुरा सार्वजनिक भैसकेको छ । हन्टरले शोकिनलाई ननिकाल्ने हो भने आफू ६ घण्टा भित्रै युक्रेन छोडेर अमेरिका जाने चेतावनीसमेत दिएका थिए । पेट्रो पोरोसेन्कोले हन्टरको दवाबलाई थेग्न सकेनन् र तुरुन्त भिक्टर शोकिनलाई बर्खास्त गरिदिए ।

भिक्टरको स्थानमा आएका युरी लुत्सेन्कोलाई पनि किएभस्थित अमेरिकी दूतावासले कारवाही अगाडी नबढाउन चेतावनी दिए पछि बुरिश्मा होल्डिङ्ग्समाथिको छानविन अहिले ठप्प छ । अमेरिकी दूतावासले क-कसलाई कारवाही नगर्ने भन्ने लिष्ट नै युक्रेन सरकारलाई दिएको थियो भन्ने समाचार बाहिर आइरहेको छ । यस तथ्यलाई अमेरिकी विदेश विभागले अस्वीकार गरेता पनि अमेरिकाका लागि युक्रेनी राजदूत मारी योभानोभिचले यो सत्य भएको पुष्टि गरेकी थिइन् । त्यसपछि युक्रेनका राष्ट्रपति जेलेंस्कीले उनलाई फोन मै हकारेका थिए ।

युक्रेनी राष्ट्रपतिले अमेरिकाको लागि आफ्नो देशकी राजदूत पूर्वराष्ट्रपति समर्थक रहेकी र उनलाई फिर्ता बोलाएर ट्रम्पले जसलाई चाहन्छन उसैलाई दूत बनाइ पठाउने बाचासमेत गरेका थिए ।

यसै विषयलाई लिएर अमेरिकी कांग्रेसकी स्पिकर नान्सी पेलोसीले ट्रम्पले आफूलाई फाइदा पुग्ने गरी जेलेन्स्किलाई कदम चाल्न कुराकानी गर्नु राष्ट्रपतिको सपथप्रति, राष्ट्रिय सुरक्षाप्रति र निर्वाचन पद्धतिको एकताप्रतिको गद्दारी ठहर्ने बताएकी थिइन् ।

तर ट्रम्पले जेलेन्स्किसंगको वार्ता सामान्य किसिमको भएको भन्दै महाभियोग सम्बन्धि सोधपुछलाई मुर्खतापूर्ण र आफूमाथि दोष थोपर्न खोजिएको एक षडयन्त्र भएको बताएका छन् ।

युएन महासभामा भाग लिन न्युयोर्क पुगेका जेलेन्स्की र ट्रम्पबीच गत बुधबार साइडलाइन भेटघाट भएपछि यस विषयले थप चर्चा पाएको हो ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top