प्रचलित केही सामाजिक विश्वास र विज्ञान

  • योगेश खपाङ्गी

नेपाल थुप्रै भाषाभाषी र जातिहरु मिलेर बनेको देश हो । यहाँ केही पुराना मोहन्जोदडो र हडप्पादेखिका संस्कृतिहरु छन् भने कतिपय नयाँ संस्कारहरु पनि विकसित भएका छन् । त्यसैले यहाँको संस्कार र संस्कृतिमा द्रविड मूलका मूलवासी, मंगोल तथा अन्य थुप्रै घुमन्ते–फिरन्ते जातिहरुको सम्मिश्रण पाइनु स्वाभाविक हो ।

मानवशास्त्रीय अध्ययन अनुसार यहाँको चलन र संस्कृतिले आठ हजार वर्षभन्दा बढीको यात्रा तय गरिसकेको छ । यसमध्ये पुर्खाले मान्दै आएको चलन सबै ठीक र सबै बेठीक छन् भन्न सकिन्न ।

कतिपय संस्कार परम्परा चटक्कै त्याग्नु उपयुक्त छन् भने केही विज्ञानसम्मत पनि छन् । पुरानो युगमा त्यस्ता परम्परालाई जोगाइराख्न धर्मसँग जोड्ने चलन थियो । त्यसमध्ये केही संस्कार र परम्पराको उल्लेख गर्नु बाञ्छनीय हुन्छ ।

पिपलको रुखको छेउमा मलमूत्र त्याग्नु हुन्न

त्यसो त हिन्दूहरुले बुद्धकालअघि पिपलको रुखको कुनै सम्मान गरेको पाइँदैन । जब बुद्धले पिपलको रुखमुनि तपस्या गरेर ज्ञान प्राप्त गरे भन्ने कुरा व्यापक भयो, त्यसलगत्तै पिपलको महिमा गान पनि सुरु भयो । लगत्तै पिपलको रुखमा पानी चढाउने, पूजा–पाठ गर्ने चलनको सुरुवात भयो । साथसाथै पिपलमा भूत–पिसाच बस्ने जस्ता अन्धविश्वासले पनि हावा पायो । पिपलको रुखमा भूत बस्छ, त्यसैले यसको छेउछाउमा मलमूत्र त्याग्नु हुँदैन भन्ने चलन चल्यो ।

धेरै पुराना जमानाका मान्छेहरु कुनै पनि कुराको विज्ञानसम्मत जवाफ दिन सक्दैनथिए । त्यसैले उनीहरुले भुतप्रेत र धर्मसँग जोडेर त्यसलाई संरक्षण गर्ने प्रयत्न गरेका हुनन् ।

वास्तवमा पिपल बहुउपयोगी बिरुवा हो । यसको पातले अत्यधिक ओस जम्मा गर्छ । त्यसैले यसको बोटमुनि बस्दा शितलता अनुभव हुन्छ । यसको बोट घना हुन्छ । त्यसैले यसले अक्सिजन पनि बढी नै फाल्छ । त्यसैले यसको महिमा महामानव बुद्धले बुझेको हुनुपर्छ । यसका अन्य थुप्रै गुणका कारण यसको संरक्षण गर्न यसलाई पानी चढाउने, पूजा–पाठ गर्ने तथा यसको नजिक मलमूत्र त्याग्न बन्देज लगाएको हुनुुपर्छ । फेरि पिपलको रुख प्रायः चौतारामा रोप्ने गरिन्छ, जस कारण बटुवालाई शितलता प्रदान होस् ।

अनि यसमा भूतप्रेत बस्छ भन्नुको तात्पर्य थोरै हावा चल्दा पनि पिपलको रुखबाट डरलाग्दो आवाज निस्किन्छ । जसबाट साना बालबालिका डराउन सक्छन् भनेर त्यसो भनिएको हुनसक्छ ।

रोगी भेट्न जाँदा शिरतर्फ बस्नु हुन्न

कुनै रोगीलाई भेट्न जाँदा उसको टाउकोतर्फ बस्यो भने बिरामीको मृत्यु हुनसक्छ भनिन्छ । यो अनुभवजन्य कुरा हो । यसमा वैज्ञानिकता भेटिन्छ । किनभने रोगीलाई भेट्न जाँदा उसको टाउको नजिकै बस्दा बिरामीलाई मुन्टो बटारेर कुरा गर्न वा हेर्न गाह्रो हुन्छ । साथसाथै उसको टाउकोतर्फ नबसेर खुट्टातर्फ बस्दा कुरा गर्न, हेर्न त सहज हुन्छ नै, श्वासप्रस्वासद्वारा सर्ने सरुवा रोग तथा अन्य संक्रमणबाट बच्न सकिन्छ ।

वर्षको पहिलो वर्षामा नुहाउनु हुन्न

पहिलो वर्षाको पानीमा भिज्दा वा नुहाउँदा दैवी प्रकोप हुन सक्ने तथा नुहाउनेलाई रोगी बनाउँछ भन्ने गरिन्छ । तर त्यसको वैज्ञानिक कारण चाहिं वर्षाको पहिलो पानीमा नुहाउँदा छालाजन्य संक्रमण हुनसक्छ । किन कि वायुमण्डलमा व्याप्त धुलीकण, प्लास्टिक, धातुका टुक्रा तथा थुप्रै सूक्ष्म किटाणु फैलिएको हुन्छ, जसलाई पहिलो वर्षाको पानीले बोकेको हुन्छ । त्यसैले पहिलो पटक वर्षिएको पानी पछिको पानीमा नुहाउनु वा भिज्नु सुरक्षित हुन्छ ।

स्त्रीहरुले शिरबन्दी, चुरा, चुटकी र कन्दनी लगाउनुपर्छ

पुरानो जमानामा सौन्दर्य सामग्री अहिलजस्तो धेरै किसिमका हुन्नथ्यो । त्यतिबेला स्त्रीसौन्दर्यलाई ध्यान दिएर स्त्रीहरुले शिरबन्दी, चुरा, चुटकी र कन्दनी लगाउनुपर्छ भनिएको हुनसक्छ । तर शिरबन्दी, चुरा, चुटकीजस्ता श्रृङ्गार सामग्रीले अक्युप्रेशर भइराख्ने र शरीरलाई बेफाइदाभन्दा फाइदा नै बढी हुनसक्छ भने कन्दनी लगाउँदा पेट बढे–नबढेको थाहा हुन्छ । साथै कन्दनीले पेट घटाउन पनि मद्दत गर्छ ।

पुरुषले कपाल खुइल्याउँदा टुप्पी राख्नु पर्छ

हिन्दु पुरुषहरुले कपाल खुइल्याउँदा अनिवार्य टुप्पी राख्ने गर्दछन् । यसको पनि कतै न कतै वैज्ञानिक आधार फेला पार्न सकिन्छ । महिलाहरुको त बाक्लो कपाल पाल्ने चलन छ, त्यसैले टुप्पीको सवाल पुरुषका लागि मात्र भनिएको हो ।

जहाँ टुप्पी राखिन्छ, त्यो भाग शरीरको निक्कै संवेदनशील स्थान हो । त्यसलाई पूर्ण रुपले नाङ्गो राख्दा सानोतिनो चोटपटकले नै आघात पार्न सक्छ, त्यसैले टुप्पी राख्नुपर्छ भनिएको हुनुपर्छ । तर नाममात्रको टुप्पी राखेर केही अर्थ छैन, बरु जति मोटो भयो उनी राम्रो । तर हाल कपाल खुइल्याएर टोपी लगाउने चलन बढेकोले टुप्पी राखे पनि वा नराखे पनि त्यति धेरै अर्थपूर्ण नहुन सक्छ ।

खाना खाँदा बोल्नु हुँदैन

खाना खाँदा बोल्नु हुँदैन भन्ने तर्क विज्ञानसम्मत देखिन्छ । खाना खाँदा आँतलाई खाना पचाउन अन्य समयभन्दा अधिक रक्तको आवश्यकता पर्छ । जब हामी खाना खाँदा बोल्न थाल्छौं, त्यसबखत दिमागर्फ पनि अधिक रक्त सञ्चार हुन थाल्छ । त्यसो हुँदा खाना अपच हुने सम्भावना अधिक रहन्छ । फेरि खाँदै बोल्दै गर्दा खाना अड्किने, बाडुली लाग्ने हुनसक्छ । त्यसैका कारण स्वासनली बन्द हुन पनि सक्ने तथा अन्नको सिता नाकतर्फ जाने सम्भावना पनि रहन्छ भने बोल्दै खाना खाँदा जुठो उछिट्टिएर अर्कालाई पर्न सक्छ ।

स्त्रीहरुले ब्रत राख्नुपर्छ

सप्ताहमा एक पटक ब्रत वा उपवास बस्नु स्वास्थ्यको दृष्टिले उपयुक्त नै मान्न सकिन्छ । तर ब्रत भन्ने कुरा स्त्रीका लागि मात्र अनिवार्य गर्नु चाहिं अनुपयुक्त हो । कामको अवस्था हेरी सप्ताहको कुनै पनि बार उपवास बस्न सकिन्छ । यसबाट आँतलाई केही आराम मिल्छ ।

बिहानै सूर्यलाई जलचढाउनु पर्छ तथा नमस्कार गर्नुपर्छ

पृथ्वीबाट नांगो आँखाले देख्न सकिने सबभन्दा चम्किलो पिण्ड सूर्य नै हो । तर यसलाई बिहान र बेलुका मात्र प्रत्यक्ष हेर्न उपयुक्त हुन्छ । दिउँसोको समयमा यसलाई हेर्न कठिन हुने मात्र होइन, हेर्न नै हुन्न, आँखाको ज्योति गुम्ने पनि सम्भावना रहन्छ । त्यसैले यसलाई हरेक बिहान हेर्नु उपयुक्त हुन्छ । यो होइन कि यसलाई हेर्नुपूर्व जलअर्पण गर्नुपर्छ र नमस्कार गर्नुपर्छ भन्ने । यी सबै फाल्तु कुरा मात्र हुन् । तर बिहान–बिहान कलिलो सूर्यको प्रकाश हेर्दा आँखाको शंकु तथा शालका उत्तेजित हुने र आँखा तेज हुन्छ ।

सुतिरहेको बच्चालाई नाघेर जानु हुँदैन

सुतिरहेको बच्चालाई नाघेर जाँदा लात्तले लाग्नसक्छ । कहिलेकाहीँ खुट्टा चिप्लिएर दुर्घटना हुनसक्छ । हातमा केही बोकेको छ भने खसेर बच्चालाई गम्भीर चोटपटक लाग्न सक्छ, त्यसैले सुतिरहेको बच्चालाई नाघेर जानु हुँदैन भन्ने कुरा पनि विज्ञानसम्मत छ ।

हाच्छिउँ आउँदा हिंड्नुहुन्न

हाच्छिउँ आउँदा हिड्नुहुन्न यो कुरा पनि केही मात्रामा विज्ञानसम्मत छ । हाच्छिउँ आकस्मिक घटनामा हुने गर्छ । ठीक हाच्छिउँ आएको बखत स्वाभाविक रुपले आँखा बन्द हुनेगर्छ । आँखा बन्द भएको बेला हिंड्नु हुँदैन । तर हाच्छिउँ आउनु लोदर लागेको हो, त्यसैले काम बन्दैनजस्ता कुरा फगत फाल्तु बकवास मात्र हो । बरु हाच्छिउँ आएमा रुघा लाग्न लागेको संकेत हुनसक्छ, थोरै सावधानी अपनाउँदा लाभ नै हुन्छ ।

यसका अलावा नेपालमा अरु पनि थुप्रै विश्वास र अन्धविश्वासहरु छन् । जसमध्ये केही कुरा यसअघि पनि लेखिसकिएको छ । तर जुन विश्वासको पछि केही तर्क र वैज्ञानिक कारण छैन, ती हुन् :

– बिरालोले बाटो काट्नु अशुभ
– हिंड्ने बेला भरि गाग्री देख्नु शुभ, खाली देख्नु अशुभ
– बाटो हिँड्दा अर्थी देख्नु शुभ
– कागले बिहानै आएर कराउँदा पाहुना आउँछन् ।
– दायाँ आँखा फुर्फुराए शुभ, बायाँ फुर्फुराए अशुभ ।

यस्ता अरु पनि थुप्रै विश्वास र अन्धविश्वासहरु हाम्रो देशमा व्याप्त छन् । जसको बिज्ञानसम्मत आधार छ, त्यसलाई निरन्तरता दिनु र जसले समाजलाई अँध्यारो बाटो तर्फ डोर्‍याउँछ भने त्यसलाई त्याग गर्नु नै बुद्धिमानी हुन्छ ।

– ‘समयबद्ध’मा प्रकाशित

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top