राष्ट्रिय क्रिकेट टिमको घोषणा : युवा खेलाडीले टिममा स्थान बनाउँदा पाका खेलाडी बाहिर

काठमाडौं । नेपालले टी–२० सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । सिंगापुर र ओमानमा हुने टी–२० क्रिकेट सिरिजका लागि नेपालले बुधबार १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले सेप्टेम्बर २७ देखि सिंगापुर आयोजना हुने त्रिदेशीय सिरिजमा खेल्दैछ । उक्त सिरिजमा आयोजक सिंगापुरसहित नेपाल र जिम्बावेले खेल्नेछन् । त्यसपछि अक्टोबर ५ देखि ओमानमा हुने ५ देश सम्मिलित टि-२० सिरिज खेल्नेछ । सिरिजमा नेपालले आयोजक ओमानसहित आयरल्याण्ड, नेदरल्याण्ड्स र हङकङसँग प्रतिष्पर्धा गर्नेछ ।

नेपाली टोली २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्ने तालिका रहेको छ । सिंगापुर सिरिज पछि टिम त्यतैबाट ओमान प्रस्थान गर्नेछ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत सिरिज खेल्ने टिमको घोषणा गरिएको हो । दुवै सिरिजका लागि यसअघि छनोट गरिएको ३५ सदस्सीय प्रारम्भिक टोलीबाट अन्तिम १४ छनोट गरिएको हो । बन्दसत्र र अघिल्ला केही प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा टिमको घोषणा गरिएको बताइएको छ ।

१४ सदस्सीय नेपाली टिममा यसपटक अधिकांश युवा खेलाडीहरुले मौका पाएका छन् । लामो समयदेखि नेपाली टिमको नियमित सदस्य रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद भेस्वाकर र बसन्त रेग्मी टिम बाहिर हुँदा युवा खेलाडी कुशल मल्ल र इशान पाण्डेले भने पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् । यु-१९ टिममा राम्रो प्रदर्शन गरिरहेका कुशल र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका इशान टिममा परेका हुन ।

दुवै सिरिजका लागि घोषणा गरिएको टिममा कप्तान पारस खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन् ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले मुख्य प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top