फ्रेन्डवर्सरी : नेपाल–रसिया सांस्कृतिक सम्बन्ध मजबुत बनाउने प्रयास

काठमाडौं । नेपाल रसियाबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्य राखेर ‘फ्रेन्डवर्सरी’ शीर्षकमा कला प्रदर्शनी गरिएको छ । रसियन कल्चर अफ साइन्स एण्ड कल्चर र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन अग्रज कलाकार विजय थापाले एक समारोहका बीच गरे ।

दुई दर्जन बढी कलाकारका कलाकृति राखिएको प्रदर्शनीमा नेपालका विविध सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा राजनीतिक विषयमा केन्द्रित रही तयार पारिएका चित्र राखिएको छ । प्रदर्शनीमा राखिएका चित्रले नेपालको समकालीन कलाको अवस्थालाई प्रस्तुत गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुषमा राजभण्डारीले बताइन् । उनले प्रदर्शनीको उद्देश्य नेपाल र रसियाबीचको सम्बन्धलाई सांस्कृतिक ढंगले मजबुत बनाउनु रहेको छ ।

नेपाली कलाकारले बनाएका कलामा नेपालको समसामयिक दृष्टिकोण प्रस्तुत भएको सहभागी कलाकार दीपेन्द्रमान बनेपालीले बताए । उनले भने, ‘कलामार्फत नेपालको सांस्कृतिक, सामाजिक तथा प्राकृतिक विविधतालाई देखाउन खोजिएको छ ।’

कलाकार तथा समीक्षक मुकेश मल्लले नेपाली कलाको इतिहास लामो रहेको बताउँदै संस्कृति र मौलिक परम्परालाई बचाउन कला प्रदर्शनी महत्वपूर्ण हुने जिकिर गरे ।

प्रदर्शनीमा विजय थापा, कृष्ण मानन्धर, सुषमा राजभण्डारी, रमेशनाथ खनाल, बुद्धि गुरुङ, मुकेश मल्ल, चन्दा श्रेष्ठ, धर्मराज शाक्य, देवेन्द्र थुम्केली, केशव राज खनाल, लालकाजी लामा, सञ्जय वान्तवा, विनोद गुप्ता, दीपेन्द्रमान बनेपाली, विष्णु श्रेष्ठ, कान्छाकाजी भासिमा, मुकेश महतो, नेमबहादुर तामाङ, एनबी गुरुङ, प्रवीण श्रेष्ठ, शंकरसन श्रेष्ठ, प्रकाश मानन्धर, रत्नकाजी शाक्य, सुमन महर्जन, सुरेम देशार, श्रीमिला श्रेष्ठ लगायतका कलाकृति राखिएको छ । प्रदर्शनी एक हप्ता चल्ने छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top