मुलुकलाई एकतावद्ध बनाउन कला, संस्कृति र साहित्यको भूमिका महत्वपूर्ण : सांसद भुसाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसद पम्फा भुसालले कुनैपनि राष्ट्रलाई एकतावद्ध बनाउन सम्बन्धित मुलुकको कला, संस्कृति र साहित्यको ठूलो महत्व हुने बताएकी छिन् । राष्ट्रको परिभाषाले भूगोल र जनसंख्या मात्र नसमेट्ने भन्दै उनले कला, संस्कृति र मौलिक परम्पराले राष्ट्रलाई अझै एकतावद्ध र बलियो बनाउने बताइन् ।

संस्कृतिविद्, वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीको तस्विर अंकित सिक्का सार्वजनिक कार्यक्रमलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै सांसद भुसालले कला, संस्कृति र साहित्यका माध्यमबाट सिंगो नेपाललाई एकतावद्ध गराउन जोशीले खेलेको भूमिका महत्वपूर्ण भएको बताइन् ।

‘सामान्यतया: मानिसको मृत्यु पछि मात्र उसको योगदानको चर्चा हुने गर्छ, तर सत्यमोहन दाई जीवित रहँदै उहाँको योगदानको कदर भएकोमा खुसि लागेको छ ।’ उनले भनिन्, ‘उहाँलाई गरिएको यो सम्मानले दाईले गरेको योगदानलाई चिरस्थायी बनाउनेछ भन्ने विश्वास लागेको छ ।’

कला, संस्कृत, इतिहास र वाङ्मयका क्षेत्रमा जोशीले पुर्याएको योगदान जीवन्त बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने सांसद भुसालको भनाइ छ । उनले भावी पुस्ताले जोशीको योगदानलाई सदैव स्मरण गरिरहने विश्वाससमेत व्यक्त गरिन् ।

संस्कृति र साहित्यका माध्यमबाट मुलुकलाई एकतावद्ध बनाउन जोशीले पुर्याएको योगदानले उनको व्यक्तित्व उच्च बनेको भन्दै सांसद भुसालले जोशीको व्यक्तित्व सबैका लागि अनुकरणीय हुने बताइन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top