आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिए

काठमाडौं । विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन् । कलाकारद्वय एससी सुमन र रविन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने उक्त बायनालेमा छानिएका हुन् । ३० अगस्टबाट सुरु हुने ‘आठौं बेइजिङ इन्टरनेसनल आर्ट बायनाले–०१९’ बेइजिङस्थित नेसनल म्युजियम अफ चाइनामा हुँदैछ ।

१ सय २५ देशबाट छानिएका कलाकार सहभागी हुने उक्त प्रदर्शनीमा नेपालबाट सुमन र श्रेष्ठ छानिएका हुन् ।

सुमन
रविन्द्र श्रेष्ठ

विश्वकै सबैभन्दा ठूलोमध्येको उक्त बायनालेको मुख्य थिम ‘कलरफुल वल्र्ड एण्ड अ सेयरड फ्युचर’ रहेको सहभागी कलाकार सुमनले जानकारी दिए । तीन दशकदेखि मिथिला कला बनाउँदै आएका उनले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान बायनाले महत्वपूर्ण फोरम भएको बताए ।

उनले मिथिला शैलीमा बनाएको कलरफुल विश्वको चित्र बायनालेमा छानिएको जानकारी दिए । उक्त प्रदर्शनीमा नेपालबाट दोस्रोपटक छानिएका सुमनले १६ पटकसम्म एकल प्रदर्शनी गरिसकेका छन् । उनले भने, ‘कलामार्फत सांस्कृतिक सम्बन्धलाई बिस्तार गर्न यो प्रदर्शनी निकै फलदायी हुने अपेक्षा राखेका छौं ।’

विश्वलाई सुन्दर र मानवतावादी समाजको परिकल्पना गरी बनाइएको सुमनको चित्रमा निलो रङको पष्ठभूमिमा चराचर जगतका जीव र तिनको जीवनलाई उतारेका छन् ।

अर्का सहभागी कलाकार श्रेष्ठको फिंगरप्रिन्ट मार्फत मानवताको विषयलाई प्रस्तुत गरेको चित्र छनोट भएको छ । श्रेष्ठका अनुसार चित्रले विश्वका मानव जातिको रुप, रङ, भेषभुषा तथा संस्कृति फरक भए पनि रगतको रङ भने सबैको रातो हुने विषयलाई उठाइएको छ । शुद्ध सुन र एक्रेलिक रङ प्रयोग गरी बनाइएको उक्त चित्रको पृष्ठभाग निलो रङको रहेको छ । जसले मानिस, जीव–जनावर तथा जगतका यावत् चीजबीच समभाव हुनुपर्ने विषय प्रस्तुत गरेको श्रेष्ठले बताए । उनले भने, ‘मानव र प्राणी जगतबीचको आत्मियता जगाउने लक्ष्यका साथ चित्र बनाएको हुँ ।’

यसअघि हार्वड विश्वविद्यालय अमेरिका, एसियन बायनाले बंगलादेशमा दुईपटक, इण्डियन आर्ट फेयर, डालियन फेस्टिभल चाइनामा छानिएर पुगिसकेका श्रेष्ठले नेपाली कलाले पछिल्लो समय अन्तर्राष्ट्रिय फोरममा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएको जिकिर गरे । प्रदर्शनी २३ सेप्टेम्बरसम्म रहनेछ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top