सुनबाटै सफल : अमृत

काठमाडौं । अमृत गजमेर जब नुवाकोटबाट पिप्लस कलेजमा स्नातक तह अध्ययन गर्न पसे, त्यस बेला सुनका गहनामा कला देखाउन थाले । यही कलालाई पेसाको रूपमा पछयाउँदै अमृतले सुनका गहनामा भविष्य रोजे । सिर्जनशीलता र मेहेनतका कारण हाल अमृत एक सफल ब्यवसायीका रुपमा परिचित भएका छन् ।

उनको गोल्डन राईज ज्वेलर्स नामक शो रुम हाल बालाजुको माछा पोखरी स्थित सञ्चालनमा छ । त्यसो त नेपाली हाते कला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्यधिक मन पराइने बस्तु मध्ये पर्दछ । तर नेपालले बहुमूल्य वस्तु निर्यातमा प्रस्ट नीति लिन नसकेपछि हस्तकला अन्तर्गत नेपाली कला झल्किने गरगहना निर्यात हुन सकिरहेको छैन ।

अन्तररास्ट्रीय वाणिज्यमा उच्च घाटा ब्यहोर्न बाध्य नेपालले गहना निर्यातलाई प्रोत्साहन गर्न सके विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत बन्न सक्छ । अमृतका अनुसार त्रिभुवन विमान स्थलका कर्मचारीबाट गहना निर्यातलाई हतोत्साहित गरिन्छ । यस प्रकारका गहना निर्यातमा आवश्यक कागजात भए पनि त्रिबि विमान स्थल भन्सार प्रशासनबाट गहना जफत गरी निर्यातकर्तालाई कार्वाही गर्ने र दु:ख दिने गरिएको छ । यसकारणले नेपालबाट बिदेशी बजारमा सुनका गहना निर्यातले ब्यवधान भोग्नु परेको छ ।

अमृतले सुनमा कोर्ने कलालाई अन्य थप दश व्यक्तिलाई सिकाई रोजगार उपलब्ध गराएका छन् । उनको समूहले सुनमा आकर्षक नेपाली गहना बनाउने गरेको छ ।

विगत १५ वर्ष देखि अमृतले अपनाएको यही पेसाका कारण उनी आफु त स्वरोजगार छन् नै, अरुलाई रोजगारी दिएका छन् । उन्का अनुसार गहना पारखीहरू हिजो विदेशी डिजाइनका गहनामा आकर्षित भएका थिए तर आज नेपाली कला देखिने गहनाको माग महँगो भए पनि उच्च हुँदै गएको छ । किनकी विदेशी डिजाइनका गहना उत्पादनमा २२ क्यारेट सुन प्रयोगमा आउने गर्दछ, जसलाई बेच्दा पुरा मूल्य पाईदैन ।

अमृतका अनुसार नेपाली तथा विदेशी ग्राहक नेपाली कला देखिने गहनातर्फ आकर्षित हुँदै जानुको प्रमुख कारण मध्ये शुद्ध २४ क्यारेटका सुनको प्रयोग, उत्कृष्ट डिजाइन र बेच्दा पुरा मूल्य पाइनु नै हो ।

सुनमा नेपाली कला कोर्ने ब्यवसायले अमृतलाई सृजनाशील सफल युवा व्यवसायी मात्र होइन जिम्मेवार करदाता भई राज्यको पुँजी उर्पाजनमा सहयोगी पनि बनाएको छ ।

‘नेपालमा सुनका गहना बनाउने कालिगडको संख्या करिब ४० हजार पुगी सकेको छ । उनीहरूका दक्षता स्तरीकरणका लागि राज्यबाट तालिम सञ्चालनको अभियान आवश्यक रहे पनि यस प्रकारका कुनै पनि कार्यक्रम हालसम्म आएको छैन । सुनमा नेपाली कला देखाउने युवा शक्तिको खाँचो छ, यसबाट युवालाई विदेश पलायन हुनबाट जोगाउन समेत जोगाउने उपाय बन्न सक्छ’ – अमृतको भनाइ छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top