महाभारतको विवादास्पद पात्रबारे ‘शकुनी’

काठमाडौं । महाभारतको विवादास्पद पात्र समेटेर लेखिएको राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक भएको छ । शुक्रबार सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरे ।

फरक शैलीले आयोजना गरिएको कार्यक्रममा कुनै विशेष मञ्च र अतिथिहरू थिएनन् । उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरे ।


भाषाविद् वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परिक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए । ‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने । यस्तै अर्का वक्ता राजकुमार बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए । उनका अनुसार आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सृजना गर्ने आधारहरू छोडेको छ । ‘शकुनी पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ’, बानियाँले भने ।

लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनीले उठान गरेको दाबी गरे । दक्षिण एसियामा नै शकुनीको चरित्रलाई बुनेर आख्यान नलेखिएको स्थितिमा आफूले सिङ्गो उपन्यास लेख्न साहस गरेको बताए । यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो ।

गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासंग्रह प्रकाशित छ । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य ४ सय ४९ रूपैँया रहेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top