इटाली र चीनबीच सम्झौता : फ्रान्स र जर्मनी अप्रसन्न

चीनद्वारा अगुवाई गरिएको मल्टी ट्रिलियन डलरको बेल्ट एण्ड रोड महापरियोजनामा सहभागी हुने इटाली पश्चिमका ग्रुप अफ सेभेन (जी – ७)का बिकसित भनिने देशहरु मध्ये पहिलो देश बन्न पुगेको छ । यो सम्झौता इटालीका इयु सहयोगीहरुको चेतावनीको कारणले लामो समय देखि रोकिएको  थियो ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको इटलीको ३ दिने भ्रमणको अवसर पारेर आज मेमोरेण्डम अफ अन्डरस्टाण्डिङ्ग (एमओयु)मा हस्ताक्षर भएको छ । स्टिल र उर्जाको क्षेत्रमा आपसी सहयोग सम्बन्धि समझदारी समेत पहिला इटालीका नजिकका सहयोगी फ्रान्स, जर्मनी र अमेरिका कै कारणले रोकिएको थियो ।

बेइजिङ्गद्वारा नेतृत्व प्रदत्त यो संरचनागत बिकासको बिशाल परियोजनामा प्रवेश गरेपछि इटालीले चिनियाँ बजारमा आफ्ना उत्पादनहरुले प्रवेश पाउने बित्तिक्कै आफ्नो अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापर्ने आशा गरेको छ । इटालीका पूर्वप्रधानमन्त्री फ्रान्को फ़्राट्टिनिले यस सन्दर्भमा “यो इटालीको लागि ज्यादै महत्वपूर्ण उपलब्धि भएको” भन्दै चीनसँगको साझेदारीले “युरोपको हितलाई अझै ब्रिस्तित पार्ने” धारणा व्यक्त गरेको कुरा रसियाको संचार माध्यम रसिया टुडेले दिएको छ ।

उनको धारणासँग समानता राख्दै राष्ट्रपति सेर्गियो मट्टरेल्लले “चीन र युरोपलाई जोड्ने नयाँ सिल्क रोडले सामानको मात्रै साटफेर गर्ने नभई सामान्य समयाहरुको समाधानको उपाय पत्ता लगाउने र भविष्यका लागि अरु धेरै योजनाहरुको समेत तर्जुमा गर्ने” बिश्वास व्यक्त गरेका थिए ।

चीनले अमेरिकासँग चलिरहेको ब्यापार समस्यालाई मध्यनजर गरेर युरोपिय देशहरुसँगको कारोबारमा वृद्धि गर्न चाहेको स्पष्ट देखिन्छ । चिनियाँ राष्ट्रपति सी जिन पिङ्गले समाचारदाताहरुलाई “हामीहरु मानबजातिले गरेको आधुनिक बिकासको फलको सबै समक्ष समान हिस्सा पुर्याउन प्राचीन कालको सिल्क रोडलाई पुन : चल्तीमा ल्याउन चाहन्छौं” भन्दै “आफ्नो देशले सो प्रयोजनको लागि युरोप, अफ्रीका र मध्य पूर्वलाई जमिन तथा समुद्री मार्गद्वारा जोड्न यस महापरियोजनाको थालनी गरेको” बताएका थिए ।

सम्झौताको पूर्ण विवरण बाहिर आइनसकेको भएता पनि करिब २२. १६ बिलियन डलर बराबरको लगानी सम्झौता भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् । इटालीका बन्दरगाह शहरहरु जेनोआ, ट्रिएस्टे, रवेंना र पालेर्मोमा चिनियाँ लगानी र मालसामान उतारिने रोमको योजना रहेको संचार माध्यमहरुले समाचार दिएका छन् ।

चीनलाई एक शसक्त प्रतिष्प्रर्धी मान्ने इयुभित्रकै इटालीका साझेदारहरु माझ इटालीको चीनप्रतिको आशक्तिलाई लिएर चासोको बिषय बन्न पुगेको थियो । गत शुक्रबार फ्रेन्च राष्ट्रपति एम्यानुएल म्याक्रोंनले “युरोपियनहरुको अज्ञानता र कसैलाई थाहै नदिइ काम गर्ने बानि तथा हाम्रो बीचको विभाजनको कारणले चिनियाँ प्रभाव सम्भव भएको” बताएका थिए ।

डच प्रधानमन्त्रि मार्क रुटले “चीनसँगको केहि निश्चित कारोबारले समस्या खडा गर्न सक्ने” शंका व्यक्त गरेका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले चाँही “सबैले के बुझ्नु जरुरि छ भने चीन हाम्रो साझेदार मात्र नभई प्रतिष्प्रर्धी पनि हो भन्ने बुझ्नु पर्छ” भन्ने प्रतिक्रिया दिएकी थिइन् । उनले कुनै इयु सदश्य राष्ट्रले एक्लै नभएर सामुहिक रुप मै चीनसँग समझदारी गर्न सकेको भए अझै राम्रो हुने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *