रोगबाट मुक्त हुन धर्म परिवर्तन

मार्तडी। बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहुँदै अपाङ्गता भएका छन् । उनीहरुको आमा अमिनीले बताइन्, “जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी १४ वर्षको उमेरबाट हातखुट्टा नचल्ने, हिँड्न नसक्ने, लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने रोगको शिकार भएका हुन् ।”

अहिले उनको तिनटै छोराछोरी हातखुट्टाले मात्र ख्रिसेर हिँड्ने गरेका छन् । शौचालयमा जाँदा पनि एकजनाले सहयोग गर्नुपरेको छ । उहाँका छोरा दीर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र छोरी सम्झना १० कक्षा पास भएका छन् । अपाङ्गता नहुँदासम्म विद्यालयमा गएर पढे, पछि विस्तारै हातखुट्टा नचल्ने र लुलो हुँदै शारीरिकरुपमा अपाङ्ग भइसकेपछि सबैले विद्यालय छोडेको सम्झनाले बताइन् ।

छोराछोरी अपाङ्गता भएपछि उपचार गर्नका लागि सबै जग्गा बिक्रीसमेत गर्यौँ, तर पनि उनीहरु ठीक नभएको बुबा भक्त गिरीको भनाइ छ । उनले भने, “कहाँ उपचार गराउँदा ठीक हुन्छ, कुनै जानकारी पनि भएन, जस्ले जहाँ लेउ भन्यो, उतै लियौँ, ठीक पनि भएन अब उपचार गर्ने आर्थिक हैसियत नै छैन ।”

“छोराछोरीलाई ठीक होला भनेर धर्म कर्ममा पनि लाग्यौँ, तर कतै ठीक भएनन्”, उनले भने, “कसैले हिन्दू धर्म परिर्वतन गरेर क्रिश्चियन धर्म माने ठीक हुन्छ भन्यो, एक वर्षसम्म त क्रिश्चियन धर्मसमेत मानेको छर तर छोराछोरीको रोग निको हुन सकेको छैन् ।”

“क्रिश्चियन धर्मका पादरी लालबहादुर पुनले हप्ताको एकपटक कोल्टीस्थित चर्चमा बोलाए । चर्चमा आएवापत पैसा मागे, ठीक हुन्छ भने, त्यसैको आशमा प्रत्येक हप्ता छोरीछोरी बोकेर चर्चमा पु¥याउने गरेका थिए तर चर्चमा पुर्याउँदा पनि ठीक नभएपछि अहिले पुनः हिन्दू धर्मतिर फर्केको छु”, भक्त गिरीले भने ।उनले भने, “एकातिर धर्म परिर्वतन गर्यौँ, अर्को धर्म परिर्वतन गरेका कारण गाउँमा सम्बन्धसमेत बिग्रियो, न छोराछोरीलाई ठीक भयो न गाउँको सम्बन्ध राम्रो बन्यो ।”

स्थानीय लक्ष्मण जोशीका अनुसार भक्त गिरीका तीनवटै छोराछोरी पढाइमा राम्रै थिए, विस्तारै हुर्कंदै गर्दा अपाङ्गता भएपछि जिन्दगी नै अन्धकारमय भएको बताए ।धनगढी, महेन्द्रनगरस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पटक/पटक लगे तर त्यहाँ ठीक हुन सकेन । “आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको उपचार हुन सकेन् । उपचार गराउँदा गराउँदा गिरीको सबै सम्पत्ति सिद्धिसक्यो, न उपचार भयो न त सम्पत्ति नै छ”, जोशीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *