उर्लाबारी । मृगौला पीडित मोरङ, उर्लाबारी–३ मंगलबारेकी १३ बर्षीया रेश्मा शेर्माको उपचारका लागि २ लाख रुपैयाँ सहयोग जुटेको छ ।
मंगलबार शेर्मा परिवारलाई याउ मा तेइ सहयोगी समाज हङकङले सो रकम सहयोग गरेको हो । उर्लाबारी वडा नं. ३ का वडा सदस्य भीष्म बुढाथोकीले पीडित बालिका शेर्मा र उनकी आमा शुकमाया शेर्मालाई २ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
धरान स्थायी घर भई हाल हङकङमा कार्यरत समाजकी कोषाध्यक्ष मनु लिम्बू (नुक्सा लिम्बू), सह–कोषाध्यक्ष तुलसी तुम्वापो सिंगक, सदस्यहरु सञ्जय लिम्बू, बिक्रम मगर, देव लेम्बु, कुमार वनेम, सुजन तामाङ, सूर्य सिंगक, मनि देवान, बालकुमार राई, गंगा कार्की, ज्ञान लिम्बू , प्रविन कार्की, रमेश चाम्लिङ, नानीचन्द्र सिंगक, मनोज क्षेत्रीलगायत रहेका छन् । यसअघि पनि याउ मा तेइ सहयोगी समाज हङकङले शेर्माको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गरेको उर्लाबारी वडा नं. ३ का वडा सदस्य बुढाथोकीले जानकारी दिए ।
स्थानीय सनसाइन अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महिना अघि खुट्टा सुनिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मृगौला खराब भएको पुष्टी भएको थियो । रेश्माको मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्ने र त्यसका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने मानव अंग प्रत्यारोपण भक्तपुर टिचिङ्ग अस्पतालका चिकित्सकलाई उद्धधृत गर्दै बुबा वीरबहादुर शेर्माले बताए ।
हालसम्म शेर्माको उपचारका लागि ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।