९२ प्रतिशत संरचना पुनःनिर्माण सम्पन्न

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त भएका सशस्त्र प्रहरी बलका ९२ प्रतिशत संरचना पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण सम्पन्न भएका संरचनामा उक्त सङ्गठनको प्रधान कार्यालयलगायत विभिन्न वाहिनी, गण तथा गुल्मका हेडक्वार्टर छन् । बाँकी रहेका संरचना अन्तिम चरणमा रहेको जनाइएको छ ।

पुनःनिर्माण सम्पन्न हुन आँटेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालीम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पुनःनिर्माणसम्बन्धी आव २०७५÷७६ को प्रगति प्रस्तुत गर्दै बलका वरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनःनिर्माण कार्य सञ्चालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए ।

उनले बलको काठमाडौँ उपत्यकाभित्र नीलबराहीस्थित नं १८ गणको हेडक्वार्टरमा रहेका दुई वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बङ्गलामुखीस्थित नं १९ गणको हेडक्वार्टरको भवन पुनःनिर्माण गर्न करीब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्धार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउन सक्ने विपद्पछिको उद्धार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नु पर्ने संस्थाका भौतिक संरचनाको पुनःनिर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख निकासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *