निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगतिबारे निरीक्षण

धनुषा ।  नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् ।

उनले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरेका छन् । उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए । पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरी निरीक्षण गरेका छन् ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *