वर्षा नभएका कारण चैते धान रोपाइँमा प्रभावित

राजविराज । सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।

किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा सिँचाइको अभावमा अहिले पम्पसेट, विद्युतीय मोटर र वैकल्पिक माध्यमबाट रोप्न बाध्य रहेको हनुमानगर कङ्कालनी नगरपालिका–२ का किसान लाल माझिले बताए ।

कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले किसानलाई खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् । वैकल्पिक बालिका रुपमा मानिएको चैते धानको खेती गर्ने किसानलाई सरकारले समयमा सिँचाइको व्यवस्था गर्न नसकेकोले पनि बाध्य भएर अहिले पम्पसेट, विद्युतीय मोटर र वैकलपिक माध्यमबाट चैते धान रोप्न लागेको किसान माझीले बताए ।

नहरमा पानी नआउँदा र अकासबाट समेत पानी नपर्दा सुख्खा खडेरीले चैते धान खेतीमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको बताइएको छ ।

उचित सिँचाइ व्यवस्था नहुँदा पानी तान्ने पम्पसेट, डिजेल तथा मट्टितेलबाट चल्ने उपकरणबाट महँगो शुल्क तिरेर खेतमा पानी दिनुपर्ने बाध्यता रहेको किसान बालेश्वर खड्गाले बताए।

तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताए । यसैबीच २०७३ साउनमा आएको भिष्ण बाढीका कारण कोशी पम्प चन्द्र नहर टुटफुट भएकाले पानी छाडन समस्या हुने गरेको कोशी पम्प चन्द्र डिभिजन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *