तेस्रो बैठकमा खेलकूद विधेयक टेबुल

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा खेलकूद विधेयक टेबुल गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५’ आज कर्णाली प्रदेशसभामा टेबुल गरेका हुन् ।

कर्णाली प्रदेशसभाको आज बसेको बैठकमा ‘कर्णाली प्रदेश सुशासन प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । विधेयकको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नागरिकमा सुशासनको प्रत्याभुति दिलाउन प्रदेश सरकार मातहत कर्मचारीलाई परिचालन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले प्रदेश सरकार मातहत कर्मचारी भए मात्र सेवा प्रवाहमा सहजता हुने र त्यसले सुशासन कायम गर्न मद्दत गर्ने बताए । सांसद कौशिलावती खत्रीले धर्मका नाममा हुने विभिन्न शोषणमा परेका र बहुपति प्रथाको सिकार बनेका महिलालाई अब बन्ने कानूनले सुशासानको प्रत्याभुति दिन सक्नुपर्ने बताए । प्रदेशसभा बैठकले कर्णाली प्रदेश सार्वजनिक प्रशारण सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक २०७५ विधायन तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ ।

विधेयक माथि थप छलफल आवश्यक भएकाले समितिमा पठाउन आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेकाले विधायन समितिमा पठाउने निर्णय भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *