इदि अमिनको आयु

माधव घिमिरे ‘अटल’

अङ्कमाल गरिरहेछु म यतिबेला
तिमीले नै पठाएको मित्रवत् कोशेली
असिनासरि बेपत्ता बर्सेका गोलाबारी ।

हो, मलाई थाहा छ
जीवन नपढ्नेहरूले
कहिल्यै पढ्दैनन् जीवनका कुनै अध्याय
घृणाको बाली रोप्नेहरूले
कहिल्यै सुन्दैनन् प्रेमको अमूल्य गुरुमन्त्र
यो पनि थाहा छ मलाई
गाउनैपर्ने थुप्रै गीतहरू छन् – स्वतन्त्रताका
थुप्रै महिमाहरू छन् – भाइचाराका
र,थुप्रै सवाईहरू छन् – दिगो शान्तिका
किन्तु ,
किन गाइरहेछौ बारुदका गीत तिमी ?
किन साटिरहेछौ
निर्दोष जीवनसँग आफ्नो जीत तिमी ?
जुनबेला हालिरहेछ अँगालो सारा संसार
मित्रता र एकत्वको सूत्रलाई
ठिक त्यहीबेला
किन सिँगार्दैछौ शत्रुताको भँगालो तिमी ?
किन रित्याउँदैछौ पाठशाला शिशुहरूका
धपाउँदै बङ्करमा निर्दोष नानीहरू ?

महोदय , मूर्खताभन्दा माथि हुन्न र मित्रता ?
जब सुक्नेछ एकदिन सद्भावको गङ्गाजल
बन्नेछौ आहारा मजस्तै शिशु कमिलाका
पहलमान ठानिएका गङ्गाका माछाहरू ।

बोकासासरि ए ढोँगी महोदय !
कहाँ पो दन्किएला र प्यारको अग्नि
सोला रोपेर कोखकोखमा
कहाँ पो चम्किएला र युगयुग
घन्काउँदैमा `वन्दे मातर´
गोला गिराएर चोकचोकमा
बध गरेर विशुद्ध चिचिलाहरू
कहाँ पो होला र अभिवादन
अतिशय अभिमानको ।

ए, समरप्रेमी आडम्बरी महोदय ,
नखोस्नू – किमार्थ नानीको सास सफेद कोटको आवरणमा
नरोप्नू – किमार्थ अग्निवाण सकस ओढेका उद्यानहरूमा
नगर्नू – किमार्थ रक्तस्नान सीमा पारिका खोल्सीहरूमा
गम्नू – छिचिमिराको जस्तै हुन्छ
इदि अमिनहरूको आयु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *