देश नयाँ संरचनामा गइसके पनि संघीयता टिक्न नियोजित प्रचारबाजीः मुख्यमन्त्री शाही

दुल्लु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश नयाँ संरचनामा गइसके पनि संघीयता टिक्न नदिने तत्वहरुले नियोजित रुपमा प्रचारबाजी गरी जनतालाई तर्साउनु गलत भएको बताएका छन् ।

दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेशस्तरिय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला’को आज उद्घाटन गर्दै उनले भने, “संघियता असफल पार्ने केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेकाले त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।”

संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले भने “प्रशासनिक संरचना तयार भइसकेका छैनन्, कर्मचारीको अभाव कायमै छ, कर्मचारी समायोजन प्रक्रिया अगाडी बढीसकेको छ, समायोजन मार्फत सबै प्रशासनिक संरचनामा कर्मचारीको व्यवस्थापन गर्ने छौँ ।”

पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उनको भनाइ छ । प्रदेश सरकारले नीजि क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भने“कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा प्रदेश सरकारले गरिसकेको छ ।”

आगामी चैत ४ गतेसम्म संचालन हुने मेला कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने उदेश्य सहित आयोजना गरिएको संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताए ।
कार्यक्रममा सांसद पार्वतीकुमारी विशुन्के, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मी, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, अमर बहादुर थापा, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायतले कर्णाली विकासका विषयमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *