बन्दुक समाएका हात चक्रपथ सफाइमा

गत शनिबार विहान ७ः३० बजे रिङरोड (चक्रपथ) को एकान्तकुना चोकमा उपस्थितमध्ये केही मानिसहरुले राष्ट्रिय झण्डा फहराइरहेका थिए । कसैले मास्क लगाएका, कसैले नलगाएका । पञ्जा लगाए पनि फोहोर छोइहाल्न हिच्किचाइरहेकाहरुको बीचबाट स्वेटर, पाइन्ट र चस्मा लगाएकी एक महिलाले सडक छेउमा फालिएका प्लास्टिक र फोहोर फटाफट टिप्न सुरु गरिन् । उनीसँगै अन्य सहभागीहरुले पनि फोहोर टिप्न सुरु गरे । फोहोर टिप्न सुरु गर्ने महिला अरु कोही नभएर सांसद तथा नेकपाकी नेतृ पम्फा भुसाल रहिछन् ।

कुनै बेला राजनीतिक परिवर्तनका लागि गरिएको जनयुद्धको नेतृत्व गरेकी पम्फा भुसाल यतिबेला सामाजिक अभियानमा सक्रिय रहेकी छिन् । ललितपुर–३ नम्बर क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने भुसाल स्थानीयको दुःख–सुखमा मात्र होइन, सरसफाइलगायत समाज सुधार र जागरणमा निरन्तर लाग्दै आएकी छिन् ।

उनै भुसालको नेतृत्वमा अहिले ललितपुर जिल्लामा पर्ने चक्रपथ सफाइ अभियान चलिरहेको छ । विगत ६ हप्तादेखि चलिरहेको चक्रपथ सफाइ अभियान बल्खुबाट सुरु गरिएको भुसालले बताइन् । गत शनिबार बिहानै ललितपुरको एकान्तकुनामा आइपुगेको सरसफाइ अभियानको नेतृत्व गरिरहेकी भुसाललाई सो अभियानका लागि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर कल्पना सत्यालले समेत साथ दिइरहेका छन् । रेडक्रस, स्थानीय क्लव, समाजसेवी, जनता र पार्टीका कार्यकर्ताहरुले समेत यो अभियानलाई सघाइरहेका छन् ।

सफाइमा जुटेकी भुसाललाई कुरा गर्ने फुर्सद हुने पनि भएन । सफाइ गर्दागर्दै भुसालले भनिन्, ‘हामीकहाँ फोहोर घरबाहिर फाल्ने चेतनाको विकास चाहिं भयो, व्यवस्थित गर्ने चेतना अझै विकास भइसकेको छैन, यो अभियान फोहोरलाई तोकिएको स्थानमा फाल्ने चेतनाको विकास गर्नका लागि पनि थालिएको हो ।’

ललितपुर महानगरपालिका, नेपाल प्रहरी र नेपाली सेना, रेडक्रसलगायत विभिन्न समाजसेवी संस्था र व्यक्तित्वहरुले रिङरोड सफाइ अभियानलाई सघाइरहेको पनि भुसालले बताइन् । रिङरोडबाट सुरु गरिएको यो अभियानलाई भित्री बस्ती र सडकसम्म विस्तार गरिने पनि भुसालले बताइन् । रिङरोडमा खासगरी गाडीका यात्रु, सडक आसपास रहेका पेट्रोल पम्प, ग्यारेज र रेष्टुरेण्टलगायतबाट फोहोर जम्मा हुने गरेको अनुभव भुसालले सुनाइनन् ।

‘कतिपय हुनेखानेहरुले नै निजी सवारी साधनमा फोहोर लोड गरेर ल्याउने र यताउति हेरेर मान्छे भए–भएको विचार गरेर रिङरोडमा फोहोर फाल्ने गरेको आफैले देखेको छु’, भुसालले भनिन्, ‘यस्तो प्रवृत्तिको अन्त्य गर्नका लागि अहिले सञ्चालन भइरहेको चक्रपथ सफाइ अभियानले चेतनामूलक सन्देश पनि दिइरहेको छ । अब नगरपालिकाले निश्चित गरेको स्थानमा फोहोर फाल्न सूचना दिन्छ । तोकिएको स्थानभन्दा अन्यत्र फोहोर फाल्नेलाई पहिलो चरणमा थोरै जरिवाना हुन्छ । पटक–पटक निर्देशन उल्लङ्घन गर्नेलाई कडा कार्वाही हुन्छ ।’ बल्खुबाट सुरु भएको यो अभियान बालकुमारीसम्म पुग्ने पनि भुसालले बताइन् ।

भुसाल पनि केन्द्रीय नेतृत्वमा रहेको तत्कालीन माओवादीले जनयुद्धताका नेपाली कांग्रेसलगायतका दललाई प्रतिक्रियावादी भएको आरोप लगाउँथ्यो । तर पछिल्लो समय राजनीतिक रुपमा आफ्ना विरोधीहरुलाई पनि पम्फा भुसालले समेटेकी छिन् । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले मेयर र गीता सत्यालले उपमेयरमा कांग्रेसका तर्फबाट निर्वाचन लडेर जितेका हुन् । कांग्रेसबाट निर्वाचित मेयर महर्जन र उपमेयर सत्याल पनि यतिबेला पम्फा भुसालले नेतृत्वको सफाइ अभियानमा सँगसँगै हिंडिरहेका छन् ।

पम्फा भुसाल संघीय संसदको सांसदमात्र होइन, नेकपाको जिम्मेवार नेतृ पनि हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा स्थायी समिति सदस्यसमेत रहेकी भुसालले प्रमुख प्रतिपक्षी दलबाट निर्वाचित महानगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई समेत विकास र जागरणको अभियानमा सँगै लिएर हिंडेकी छिन् । विरोधीहरुलाई समेत समेट्न सक्ने जिम्मेवारीपूर्ण क्षमता भुसालमा देखिएको चक्रपथ सफाइ अभियानमा भेटिएका ललितपुर कांग्रेसका एक कार्यकर्ताले बताए ।

अहिले ललितपुरमा महानगरपालिका र निजी संस्थाहरुले समेत फोहोर सङ्कलन गर्दै आएका छन् । चक्रपथ अभियानले सकारात्मक चेतना प्रसार गरे पनि चित्तबुझ्दो परिणाम आउन नसकेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । उनले भने, ‘फोहोरको मूल चक्रपथ होइन रहेछ । अन्यत्रबाट आउने फोहोरको उचित व्यवस्थापन गर्न नसक्दासम्म चक्रपथ सफा नबन्नेरहेछ’ । ‘फोहोर आउने मुहान रोक्न र सिसडोलमा फालिंदै आएको फोहोर व्यवस्थापन सहज भयो भने मात्र सफाइ अभियानको उद्देश्य पूरा हुनेजस्तो देखियो ।’

सडकमा फोहोर फाल्ने कन्टेनर राख्न सके फोहोर फालिने थिएन कि भन्ने जिज्ञासामा मेयर महर्जनले भने, ‘फोहोर नियन्त्रण गर्न सकिन्छ कि भनेर धेरै पहिला ललितपुर नगरपालिकाले ठाउँठाउँमा कन्टेर राखेको थियो । तर त्यो खासै प्रभावकारी बनेन’, महर्जनले भने, ‘अब सडकको धुलो सफाइ गर्न ठूलो ब्रुमेर ल्याउन लागेका छौं । ललितपुर महानगरपालिकामा २६७ वटा आमा र महिला समूह छन् । अबको अभियानमा रिङरोडमा फोहोर जम्मा हुने मुहानका रुपमा रहेका भित्री सहायक सडकहरु सफाइ गर्न ती समूहहरुलाई पनि सहभागी बनाउने प्रयास गर्छौं ।’
पम्फा भुसालहरुले बोकेको बन्दुकले देशका धेरै क्षेत्रमा परिवर्तन ल्यायो । राजनीतिक रुपमा त त्यो आन्दोलन सबैभन्दा सफल भयो । जनयुद्ध नभएको भए देशले अहिले गणतान्त्रिक प्रणालीमा गएको हुने थिएन । सामाजिक चेतनामा जनयुद्धले ठूलै परिवर्तन ल्यायो । तर सरसफाइलगायतका सामाजिक जागरणको अभियान यतिबेला आवश्यक बनेको छ ।

भुसालको नेतृत्वमा भइरहेको चक्रपथ सफाइ अभियानमा बढ्दै गएको जनसहभागिताले एउटा सन्देश दिएको छ कि राजनीतिक परिवर्तनले मात्र मुलुकको समग्र परिवर्तन हुँदैन । यति नै बेला कयौं जनप्रतिनिधिहरु ठेक्कापट्टा र गलत धन्दामा लागेका समाचारहरु सार्वजनिक भइरहेका छन् । तर, पम्फा भुसाल सामाजिक जागरणका काममा व्यस्त छिन् । सामाजिक कार्यमा पम्फाले देखाएको सक्रियता र प्रतिपक्षी दलका जनप्रतिनिधिलाई समेत साथमा लिएर सञ्चालित यस्ता अभियानले सबै सांसद र जनप्रतिनिधिहरु गलत छैनन् भन्ने सन्देश दिएको छ । राजनीतिक दल र नेताका बारेमा जताततै नकारात्मक प्रचार भइरहेका बेला पम्फा भुसालले वातावरणीय स्वच्छताका लागि सरसफाइ अभियानको नेतृत्व गरेर राजनीतिक सफाइका लागि पनि प्रतिकात्मक सन्देश दिएकी छिन् । ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?’ भन्ने नारा चक्रपथ सफाइ अभियानको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *