साहित्यकार र चित्रकारको साहित्यिक यात्रा सम्पन्न

काठमाडौं । `पर्यटनका निम्ति साहित्य´ भन्ने मूलमन्त्रका साथ साहित्य यात्रा-२०७५ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि को तर्फबाट शुभकामना मन्तव्य राख्दै वरिष्ठ कवि तुलसी दिवसले भन्नुभयो ,”पर्यटनका निमित्त मात्र साहित्य नभई साहित्यका निमित्त पर्यटन हुनुपर्दछ । मान्छेलाई मान्छे बनाउने सपनाले हो । स्वभाव , सभ्यता र सिर्जनशीलताले नै खाँटी मान्छे बन्नसक्छ मान्छे । साहित्य मान्छेलाई हँसाउने दिशातिर उन्मुख हुनुपर्छ । हामी समयको पछि लाग्ने भन्दा पनि समय हाम्रो पछि लाग्नुपर्छ ।”

विशेष अतिथि युवराज नयाँघरेले स्थानीय कला र संस्कृतिको खुलेर प्रशंसा गर्दै आफ्नो बस्ती उन्नत बनाउन आफैं लाग्नुपर्ने बताउनुभयो । कला र साहित्यले नै मानवलाई सभ्यताको शिखर चुम्न उत्प्रेरित गर्छ भन्ने उहाँको कथन थियोे । अर्का विशेष अतिथि बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले स्थानीय कला र संस्कृति जगेर्ना गर्न तथा ग्रामीण पर्यटन प्रवर्द्धनका निम्ति आफू पूर्णरूपमा प्रतिबद्ध भएको स्पष्ट पार्नुभयो । होमस्टे सञ्चालन गर्दा पाहुनालाई अर्ग्यानिक खाना खुवाउनका निम्ति आफ्नै वारीमा तरकारीदेखि पाहुनाले उपभोग गर्ने अन्य वस्तु उत्पादन गर्नुपर्ने खाँचो अध्यक्ष थापाले औँल्याउनुभयो । होमस्टेका निम्ति आवश्यक सहयोग गर्न गाउँपालिका जतिसुकै बेला तत्पर रहेको वहाँको भनाइ छ ।

त्यसैगरी रामकोट होमस्टेकी अध्यक्ष बिहीसरा आलेले रामकोटमा व्यवस्थित र मौलिक खालको होमस्टे बनाउन आफू सदैव दत्तचित्त हुने प्रण गर्नुभयो । बन्दिपुर अर्ग्यानिक होमका सञ्चालक आशुतोष प्रधानले रामकोटमा होमस्टेको प्रारम्भ, विकास र प्रभावकारिताबारे सटीक काव्यात्मक विचार राख्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष आरएम डङ्गोलले सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै करिब एक दशकको अवधिमा प्रतिष्ठानले साहित्य र पर्यटनलाई जोड्न आधा दर्जनभन्दा बेसी यसखाले कार्यक्रम गरिसकेको र आगामी दिनमा पनि जारी राख्ने प्रण गर्नुभयो ।

त्रिशूली वाङ्मय प्रतिष्ठान तथा रामकोट होमस्टेको आयोजना एवं नेपाल पर्यटन बोर्ड तथा बन्दिपुर गाउँपालिकाको प्रायोजनमा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङ्गोल तथा बन्दिपुर अर्ग्यानिक होमका सञ्चालक आशुतोष प्रधानको सक्रियता र पहलमा भएको थियोे ।

देवेन्द्र थुम्केलीको नेतृत्वमा रहेको चित्रकारको समूहले रामकोटको तस्वीर आफ्नो क्यान्भासमा उतारेर उपहार प्रदान गरेको थियो । करिब तीन दर्जन सर्जक सहभागी कार्यक्रममा प्रज्वल अधिकारी, श्यामराज पाठक, कृष्णदेव रिमाल, प्रभाती किरण, माधव घिमिरे `अटल´, निर्भीक रायमाझी, लक्ष्मी रुम्बा, अक्षर काका, अश्विनी कोइराला, शिव आर्य, सरु पोखरेल, गीता रेग्मी, आकाश अधिकारीलगायत डेढ दर्जन कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । सो कार्यक्रमको सहजीकरण भैरवी भूगोलले गर्नुभएको थियोे भने अध्यक्षता प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *