बागलुङबजारको फोहर व्यवस्थापन गर्दै आएको धवलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले नगरपालिकाले सम्झौता नवीकरण नगरे फोहर उठाउने काम रोक्ने भएको छ ।
गत असार मासान्तमै नवीकरण हुनुपर्ने सम्झौता हालसम्म नवीकरण नभएको भन्दै सहकारीले फोहर उठाउन रोक्ने जनाएको हो ।
विसं २०७८ सम्म फोहर व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भए पनि वर्ष/वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । सम्झौता नवीकरणका लागि सहकारीले आगामी फागुन २५ गतेसम्मको समय दिएको र उक्त मितिसम्म पनि सम्झौता नवीकरण नभए फोहर उठाउन रोकिने सहकारीका सल्लाहकार पद्मचन्द्र राजभण्डारीले बताए ।
नगरपालिकाले बाटो नफुकाएका कारण फोहर व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । सहकारीले बागलुङ नगरपालिकाको वडा नं १ देखि ४ नं वडाका करीब चार हजारभन्दा बढी घरका फोहरमैलालाई व्यवस्थापन गर्ने काम गर्दै आएको छ ।
एउटा मात्रै गाडी भएका कारण फोहर व्यवस्थापनमा समस्या भएको जानकारी गराउँदासमेत नगरपालिकाले बेवास्ता गरेको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले बताए ।