सेनाको व्यावसायीक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायीक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने बताउनुभएको छ । सेना दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले  सन्देशमा भन्नुभएको छ “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले  सरकारको महत्वपूर्ण अंगका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।” प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

“नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पुर्‍याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”

प्रधानमन्त्री ओलीले शुभकामना  सन्देशमा प्राकृतिक विपत्तिहरुका वखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्दार कार्यमा खटिने समस्त सैनिकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *