खानेपानीको मुहान पुरिँदा समस्या

पाल्पा । डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहानमा माटो र ढुङ्गाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गर्नुभयो ।

स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ ।
स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहानमा सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या सिर्जना हुँदै आएको छ ।
जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रने देखिएको छ । गाउँमा जाने खानेपानीको टङ्की र बजार जाने आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । वर्षात्को समयमा फेरि समस्या हुन सक्ने चिन्ता छ ।
धजा बान्नेबाट तान्सिङगलसम्मको मोटरबाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताउनुभयो । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोटरबाटो विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको आपसी भेला गरी समधान खोजिने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *