सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीले आज यहाँ पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यसवर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

“वीरेन्द्रनगरस्थित रङ्गशालामा खेलको आयोजना हुनेछ,” अध्यक्ष शाहीले भने, “प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता रहने छ ।” खासगरी कर्णाली प्रदेशलाई राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न, एकेडेमी तथा कर्णाली प्रिमियर लिगको संस्थागतका साथै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको उनले बताए ।

सो प्रतियोगिताका लागि ६० लाख बजेट तर्जुमा गरिएको प्रतियोगिताका संयोजक रेशमबहादुर शाहीले बताए । उनका अनुसार प्रत्येक टिममा दुईजना विदेशी खेलाडी सहभागी गराउन पाइने छ ।

खेलमा अफिसियलसहित १ सय ५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *