मेयर्स चितवन च्याम्पियनशिप ट्रफी क्रिकेट प्रतियोगिता शुरु

भरतपुर । चितवनमा आजदेखि १६औँ मेयर्स चितवन च्याम्पियनशिप ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ब्याटिङ गरी उद्घाटन गरेकी छिन् । नारायणगढस्थित क्याम्पाचौरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र चितवन क्रिकेट क्लब विजयी भएका छन् ।

पहिलो खेलमा चितवन क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गरेको हो । २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुर १५.१ ओभरमा ८६ रनमा अलआउट भयो । ८७ रनको लक्ष्य पछ्याएको चितवनले १६.१ ओभरमा ८६ रनमै अलआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभर पनि बराबरीमा रोकिएपछि अन्तिम बलको आधारमा चितवन विजयी भएको हो । खेलमा मकवानपुरका राम नरेश गिरी ‘म्यान अफ दी म्याच’ भए ।

यस्तै दोस्रो खेलमा ग्रेट हिमालयनले भरतपुर क्रिकेट क्लबलाई ३६ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो । लक्ष्य पछ्याएको भरतपुर निर्धारित २० ओभरमा ९२ रनमै अलआउट भयो । खेलमा काठमाडौँका कमल खत्री म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा मकवानपुर क्रिकेट क्लब र धनगढी क्रिकेट क्लब, दोस्रो खेलमा वीरगञ्ज क्रिकेट र भरतपुर क्रिकेट क्लबका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *