धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा: कमल थापा

सरोज खप्तडी बस्नेत, उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तनले धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

धर्म परिवर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौंदेखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने खतरा रहेको उल्लेख गरे । आफू कुनै धर्मको विरोधी नभएको भन्दै हिन्दु सनातन धर्मको रक्षाका लागि अभियान थालेको उनको भनाई छ । लोभ, लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिवर्तन गर्ने कार्यले बौद्ध, किरात धर्म समेत संकटमा परिरहेको बताउँदै त्यसलाई रोक्न नसके ठूलो द्वन्द्व निम्नि सक्ने उनको भनाई छ ।

उनले आफू सबै धर्मबीच समानता र स्वतन्त्रताको पक्षमा रहेको प्रष्ट पारे । हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने उनको भनाइ छ । ‘हिन्दु राष्ट्र हुँदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने होइन’, थापाले भने, ‘मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा आवश्यक छ ।’ बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तेस्रोे दिन मोरङका विभिन्न स्थानमा सभा गर्ने राप्रपा प्रदेश नं. १ का सदस्य पूर्ण वाइबाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *