एसियाका राष्ट्रले सामना गर्नु परेको जटिलतासम्बन्धी अनुभव आदानप्रदान

काठमाडौँ । जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा देखिएका जटिलताका सम्बन्धमा दक्षिण पश्चिम एसियाका राष्ट्रले सामना गर्नु परेको समस्यासम्बन्धी अनुभवको आदानप्रदान गरिएको छ ।

जैविक विविधता र पारिस्थितिक प्रणालीसम्बन्धी अन्तरसरकारी विज्ञान नीति मञ्चले तयार गरेको एशिया प्रशान्त क्षेत्रको दक्षिण तथा पश्चिम उप–क्षेत्रीय मूल्याङ्कन प्रतिवेदनमाथिको ‘विज्ञान नीति संवाद’ कार्यक्रममा आगामी दिनमा यस क्षेत्रका राष्ट्रले अवलम्वन गर्नु पर्ने भावी कार्यदिशा सम्बन्धमा छलफल भएको थियो ।

वन तथा वातावरण मन्त्रालय र सरोकारवाला निकायको आयोजनामा भएको दुईदिने सो कार्यक्रममा नेपाललगायत दक्षिण तथा पश्चिम एशियाका १३ राष्ट्रबाट सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत ६१ विज्ञ तथा वैज्ञानिकको सहभागिता थियो । सो संवाद कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा महेश्वर ढकाल र यज्ञनाथ दाहालले जैविक विविधता, पारिस्थितिकीय प्रणाली र भू–परिधी संरक्षणका क्षेत्रमा नेपालमा भइरहेको प्रयास सम्बन्धमा प्रस्तुतिकरण दिएका थिए ।

उक्त संवादको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधताको संरक्षणप्रति सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालले तीन तहको सरकारसहितको सङ्घीय प्रणाली अङ्गीकार गरिसकेको सन्दर्भमा वन तथा जैविक विविधताको नियमनसम्बन्धी प्रणालीलाई सहकार्यमूलक नियमन प्रणालीको स्वरुपमा रुपान्तरण गरिएको उहाँको भनाइ थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालले दीगो विकास लक्ष्यको रोडम्याप तयार गरेको र कार्यान्वयनका लागि आवश्यक वित्तीय विश्लेषण गर्दैआएको जानकारी दिएका थिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले मध्य हिमाली क्षेत्रमा अवस्थित हिमाली राष्ट्रको हैसियतले भौगोलिक तथा जलवायुजन्य विशेषतासहित नेपाल जैविक विविधतामा धनी राष्ट्र भएको दोहो¥याए वन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *