रुसबाट चीनतर्फ जाने प्राकृतिक ग्यासको पाइपलाईन ९९% सम्पन्न

रुसको ऊर्जा सम्बन्धि भिमकाय कम्पनि गजप्रोमले साइबेरियाबाट चीनको लागि यसैबर्षको डिसेम्बर महिनादेखि प्राकृतिक ग्यासको आपूर्तिको शुरुवात हुने जनाएको छ । गजप्रोमले ग्यासको पाइप लाईन बिच्छ्याउने कार्य ९९%  सम्पन्न भएको समेत बताएको छ ।

सिंगापुरमा भएको गजप्रोमको इन्भेष्टर डे प्रेजेण्टेसनमा सन् २०१९ मा २.२४ बिलियन डलर खर्च गरिने र ३८ बिलियन क्युबिक मिटर रसियन प्राकृतिक ग्यास बर्षेनी चीनमा डेलिभरी दिइने जनाइएको छ ।

गजप्रोम र चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)ले साइबेरिया ग्यास पाइपलाईन मार्फत ३० बर्षको लागि ग्यास आपूर्ति गरिने सम्बन्धि सहमति सन् २०१४ मा गरेका थिए । गत सेप्टेम्बरमा गजप्रोमलेयाकुतिया ग्यास उत्पादन केन्द्रबाट चीनको सिमानासम्मको पाइप लाईन बिच्छ्याउने काम लगभग सम्पन्न भएको रिपोर्ट दिएको थियो ।

इर्कुत्स्क, अमुर र यकुतिया गरि रुसका तीन प्रदेशलाई छिचोलेर चिनियाँ प्रदेशमा प्रवेश गर्ने यो पाइप लाईनको निर्माणकार्य सम्पन्न भैसकेको र अप्रिल २०१७ देखि शुरु भएको चिनियाँ क्षेत्रतर्फको निर्माण कार्य भर्खरै सम्पन्न भएको समाचारमा उल्लेख छ । आउँदो डिसेम्बरबाट ३००० किमि लामो यस पाइपलाईनबाट ग्यास आपूर्ति गरिने गजप्रोमको योजना छ ।

गजप्रोमले ४.८ बिलियन डलर खर्च गरेर इर्कुत्स्क र यकुतिया ग्यास उत्पादन केन्द्रलाई अमुर ग्यास प्रसोधन केन्द्रमा जोड्ने र यसलाई पूर्वीय ग्यास योजनाको रुपमा बिकास गर्ने योजना बनाएको थियो ।

सन् २०३५ सम्ममा चीनलाई आवश्यक पर्ने सम्पूर्ण प्राकृतिक ग्यासको २ % आपूर्ति गरेर गजप्रोम चीनको लागि सबैभन्दा ठुलो ग्यास आपूर्तिकर्ता बन्न चाहेको छ । चीन अहिले विश्वको सबैभन्दा ठुलो  पेट्रोल आयातकर्ता हो भने ग्यासको दोश्रो ठुलो आयातकर्ता देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *