ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त दुःखद् घटना भएकामा फागुन १६ गते राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उहाँहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।

अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *