लयमा फर्किए जीवन !

  • प्रवीण खपाङ्गी

गीतहरु कर्णप्रिय र सदाबहार हुन्छन् । गायक–संगीतकारहरुको नाम धेरै चल्ने गर्दछ तर पर्दापछाडिका नायकहरु अक्सर ओझेलमा पर्ने गर्दछन् । विशेष गरेर बाध्यवादकहरुलाई कसैले वास्ता गर्दैन तर त्यो भिडमासमेत आफ्नो छुट्टै चिनारी बनाएका छन् बरिष्ठ तबलावादक जीवन राईले ।

स्टुडियो र लाइभ गरी असङ्ख्य गीतहरुमा कुशल तबलावादन गरेर नेपाली संगीत आकाशमा उनले इतिहास बनाइसकेका छन् । तिनै तबलावादक राई गएको दशैँअघि अचानक सिकिस्त विरामी भए ।

उनको मुटुमा गम्भीर समस्या देखियो । उनको मुटुमा सिआरटी पेश्मेकर राख्नुपर्ने भयो । त्यसका लागि झण्डै २२ लाख रुपैयाँ खर्च लाग्ने भयो । एउटा कलाकारका लागि त्यत्रो खर्च जुटाउनु सामान्य थिएन । बिहानबेलुका गुजारा चलाउनकै लागि सङ्घर्ष गर्नुपर्ने कलाकारका लागि यति ठूलो रकम जुटाउनु असम्भवै थियो । तर, १५ लाख जति रुपैयाँ नेपाली संगीतजगतका कलाकार, उनका विद्यार्थी र शुभचिन्तकले जुटाइदिए । राई भन्छन्, ‘बाँकी पैसा जसोतसो जुटाइयो तर फलोअपका लागि अझै खर्च भइराखेको छ ।’

आर्थिक अभावकैबीच सहयोगीहरुका कारण उनको उपचार सफलतापूर्वक भयो । नेपाली संगीतजगत्ले अझै उनको योगदान पाइरहने भयो । दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मथलो बनाएका जीवन दशैँ–तिहारमा झण्डै २ महिनाको घरबसाई र आरामपछि फेरि फर्किएका छन् । नेपाली संगीतलाई अझै समृद्ध बनाउन सकेको गर्ने धोको नमरेको उनी बताउँछन् । ‘स्वास्थ्यले साथ दिउञ्जेल नेपाली गीत–संगीतको क्षेत्रमा सकेको योगदान दिन लागिरहन चाहन्छु’ भावुक हुँदै जीवनले भने ।

अहिलेका ब्यस्त बाद्यवादक भुवन गन्धर्भ, सन्तोष बर्मा, जगन्नाथ धगौडालगायतले उनीबाट तबलाको ज्ञान लिएका हुन् । हालसमेत उनी तबला सिकाउनमा निरन्तर लागिरहेका छन् । तर कतिपय विद्यार्थीलाई गुरुको नाम लिन र गुरुप्रति सम्मान ब्यक्त गर्न अनि आफ्नो धरातल बिर्सिने बानीले पनि छुन थालेको छ, जुन गलत हो । अनि कतिपय विद्यार्थीमा केही ज्ञान लिएपछि पैसाको पछि लागिहाल्ने प्रवृत्तिसमेत बढेको छ । सिकाइलाई बीचमै रोक्ने गरेमा हात राम्रो बन्दैन त्यो नयाँ विद्यार्थी भाइबहिनीले बुझ्न जरुरी रहेको उनी बताउँछन् ।

जीवनका पिता नरध्वज राई राम्रा मादल बादक मात्रै थिएनन्, राम्रा गाएक पनि थिए । दाजुहरु पनि संगीतमै लागेका थिए । जेठा दाजु मनबहादुर बाँसुरी, मेण्डोलिन भ्वायलिन बजाउनमा पोख्त थिए । मनबहादुरले पछि अलइण्डिया रडियोमा समेत काम गरे भने साहिँला दाजु सन्तकुमार राई राम्रा तबला वादक थिए । ‘घरको वातावरण नै संगीतमय भएकोले ममा पनि सानैदेखि संगीतको नशा चढेको हो । मेरो सांगीतिक जिवनमा बुबा र दाजुहरुको ठूलो योगदान छ’, उनले भने ।
दार्जिलङका प्रख्यात तबला वादक प्रतापसिंह लोहारलाई गुरु थापेर उनले धेरै बर्षसम्म धैर्यता र मेहनतका साथ तबला सिके । पछि रवीन्द्र भारती संगीत विश्वविद्यालयबाट तबलामा गोल्ड मेडलसहित संगीतरत्नको उपाधीसहित उनले मास्टर्स गरे– सन् २००५ मा ।

त्यसलगत्तै नेपाली संगीतका एक खम्बा गोपाल योञ्जनबाट उनलाई नेपालबाट तबला बजाउनका लागि निम्ता आएछ । दार्जिलिङ रहँँदै जीवनको तबला वादनको स्तर थाहा पाएका गोपाल योञ्जनले नेपालमा भर्खरै खोलिएको गोपालय स्टुडियोमा तबला वादकका रुपमा २०५० सालमा जीवनलाई बोलाए ।

‘वहाँ (गोपाल योञ्जन)सँग पछिसम्म काम गरेँ । सहकर्मी बाद्यवादकहरुलाई अत्यन्तै माया गर्ने, सकेको सहयोग गर्ने र सधंै सिर्जनशील बन्न सिकाउने गोपाल सरको अद्भुत कला थियो । मेरो सांगीतिक क्यारियरमा वहाँको ठूलो योगदान छ’, जीवनले विगत सम्झिँदै बताए ।

त्यसपछि जीवनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले राम्रो तबला वादकका रुपमा नाम कमाउँदै गए । तबला वादकको प्रख्याति हासिल गर्दै अनि असङ्ख्य एकल सोलो प्रस्तुति, असङ्ग्ख्य लाइभ कार्यक्रमहरुमा जीवनले तबलाको जादु देखाउँदै गए । उनको यो कर्म अहिले पनि निरन्तर चलिरहेको छ । तबलामात्र नभएर मादल, ढोलकलगायत पर्क्युशन (छालाबाट बनेका बाध्ययन्त्र) का सबै बाजाहरु उत्तिकै राम्रोसँग बनाउन सक्छन् उनी ।

नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकारहरुसँग काम गरेको अनुभव जीवनसँग छ । गोपाल योञ्जन, अम्बर गुरुङ, शान्ति ठटाल, अरुणा लामा, फत्तेमान, प्रेमध्वज प्रधान, मिरा राना, गणेश रसिक, बद्रीदुर्गा खरेल, दीप श्रेष्ठ, दीपक जङ्गम, आभास, बलराम समाल, जगदीश समाल, देवनारायण प्रधान आदिसँगको सहकार्यको अनुभव उनीसँग छ ।
नयाँ पुस्ताका मिना निरौला, झुमा लिम्बु, राज सिग्देल, मेलिना राई, प्रकाश लेप्चा आदिका गीतहरुमा समेत उनले तबला वादन कला देखाएका छन् ।

दार्जिलिङबाट नेपाली संगीत आकाशमा धेरै हस्तीहरु आएर नेपाली संगीत आकाशलाई अझै भरिलो र समृद्ध बनाएका छन् । तिनैमध्येका एक पात्र हुन्– जीवन राई ।

नेपालबाटै नेपाल म्युजिक सेन्टरको टिचर एक्सचेञ्ज कार्यक्रमअन्तर्गत नर्वे पुग्ने अवसर पनि जीवनले पाए । करिब १० महिना नर्वेमा रहँदा आफ्नो कला विदेशी विद्यार्थीहरुलाई समेत सिकाए । त्यहाँको आङबेग्लिन भन्ने सांगीतिक समूहसँग मिलेर उनले १२ वटा सांगीतिक कार्यक्रम गरेका रहेछन् ।

केही समय सिंगापुरमा रहेका गजल रेस्टुरेण्टहरुमा बाद्यवादकको रुपमा पनि उनले काम गरेका रहेछन् । बरिष्ठ गायक गणेश रसिकसँग उनी दोस्रो पटक सांगीतिक कार्यक्रमकै लागि फेरि सिंगापुर पुगेछन् । ‘जीवन भाई एउटा कलाकारमा हुनुपर्ने सबै गुण भएका मृदुभाषी, मेहनती र अत्यन्त सफा हात भएका तबलावादक हुन् । उनलाई लिंदा मलाई ढुक्क मसुस हुन्छ । उनको तबला बजाईमा पूर्णता पाउँछु । मेरो पहिलो रोजाईमा प्रायः उनी नै हुन्छन्’, बरिष्ठ गायक दीप श्रेष्ठले भने ।

उनलाई नजिकबाट चिन्ने अर्का अत्यन्त व्यस्त बरिष्ठ तबलावादक कुमार महाराजले समेत राईको तबलावादन क्षमताको खुलेर प्रशंसा गरे । ‘जीवन भाई एक अत्यन्तै राम्रा र पर्फेक्ट तबलिस्ट हुन् । म उनको तबलावादनको ठूलो प्रशंसक पनि हुँ’, कमार महाराजले भने ।

तबला बजाएरै बाँच्न सकिन्छ त ? भन्ने प्रश्नमा उनले भने– तबला बजाएरै जीवन चलाइरहेको छु । धेरै अर्थोपार्जन गर्न नसके पनि आत्मसन्तुष्टि, कलाकारको रुपमा पाएको सम्मान र माया पैसासँग तुलना गर्न मल्दैन । म सिकिस्त बिरामी भएको बेलामा मेरा लागि त्यति ठूलो सहयोग रकम पाउँदा मैले कला र संगीतको महत्व बुझें ।

‘स्टुडियो र लाइभमा ब्यस्त हुने कलाकारको आम्दानी राम्रै छ तर नेपाली संगीतजगत्मा पनि केही मात्रामा सिण्डिकेट, गुटवाद र खुट्टा तान्ने प्रवृत्ति भने छ । काम लगाएर भनेजति पैसा नदिने वा पैसा दिन आनाकानी गर्ने प्रविृत्ति पनि केही मात्रामा भने छ ।’ आफू विरामी परेका बेला धैरैले सहयोग गरे पनि केही संस्थाहरुले भने आश्वासनमात्र दिएको दुखेसो उनले पोखे ।

पलेटी शृङ्खलाका कार्यक्रम होस् वा शास्त्रीय संगीतका कार्यक्रम, स्टुडियो होस् वा लाइभ सांगीतिक कार्यक्रम– पहिलो रोजाइमा जीवनको खोजी हुन्छ । रेडियो नेपालले उनलाई बिशिष्ठ श्रेणीको शास्त्रीय तबलावादकको दर्जाले सम्मान गरेको छ । विभिन्न कार्यक्रममा विभिन्न संस्थाले प्रदान गरेका सम्मानपत्रहरु उनका कोठाका भित्तभरि प्रशस्तै टाँगिएका छन् ।
कुशल तबलावादक मात्र नभएर उनी कुशल संगीत संयोजक र संगीत भर्ने कामसमेत गर्छन् । स्टुडियो, लाइभ अनि शास्त्रीय तीनैवटा विधामा उत्तिकै पोख्त सा¥है कम तबलावादक भेटिन्छन् । जीवन तीनै विधामा उत्तिकै दक्ष मानिन्छन् । संगीतमा लाग्दालाग्दै आफूले विवाह गर्नसमेत विर्सिएको कुराकानीका क्रममा जीवनले बताए ।

भन्छन्, ‘संगीत नै मेरो जीवनको साथी भयो । तबलामा यति डुबेछु कि बिहेका बारेमा सोच्ने फुर्सदसमेत भएन ।’ ‘अब त बुढो पनि भइयो’, उमेरले ४० को दशकमा हिंड्दै गरेका जीवनले भने । नेपाली संगीतका एक अथक साधक जीवन चर्चा र प्रशंसाबाट टाढै बस्न रुचाउने रहेछन् ।

अचेलका संगीत सिक्ने भाइबहिनीहरुमा आफ्नो समयका मानिसमाजस्तो धैर्यता, मेहनत र लगनशीलतामा कमी हुँदै गएकोमा उनलाई चिन्ता लागेको छ । आफू बिरामी भएर थला परेका बेला उनले मनमनै सङ्कल्प गरेका रहेछन्– ‘जीवनमा जे–जति सिकें केही पनि बाँकी नराखी नयाँ भाइबहिनीलाई बाँड्छु ।’

उनको निवासमा तबला सिक्न आउनेहरुको ठूलै भीड हुने गर्छ । पूर्णस्वस्थ नभइसकेका प्रतिभाका धनी राईलाई नियमित स्वास्थ्य जाँचका लागि अझै केही आर्थिक सहयोगको खाँचो रहेको छ ।00

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top