सरकारको नौ महिना : कामभन्दा कुरा बढी

केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाईको सरकार बनेको ९ महिना पूरा भएको छ । संसदमा झण्डै सुविधाजनक बहुमत पाएको दुई बामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकता भएको ६ महिना पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ०७४ फागुन ३ गते गठन भएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ गते एकता भएको थियो ।

बाम गठबन्धन ‘स्थिर सरकार र समृद्ध नेपाल’को नारा लिएर चुनावमा होमियो । जनताले बाम गठबन्धनको त्यो नारालाई चुनावी नतिजामार्फत् अनुमोदन गरिदिए । केपी शर्मा ओली नेतृत्वको बाम सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा तय ग¥यो । तर व्यवहारमा ठीक विपरीत नतिजा देखिएका छन् । पछिल्लो समय त सरकारका हरेक निर्णय विवादास्पद बन्न थालेका छन् । राष्ट्रपतिका लागि सवारी साधन खरीदका लागि ठूलो परिमाणको रकम छुट३याउने, राष्ट्रपति निवासका लागि थप जग्गा उपलब्ध गराउने, उपराष्ट्रपतिका लागि नयाँ निवास र राजदूत नियुक्तिले सरकारप्रतिको जनविश्वास पूरै उल्टो ‘वेभ’मा परिवर्तन भएको अवस्था छ ।

स्थिरता, सुशासन, पानी जहाज, रेल–मोनोरेल, घरघरमा ग्यास पाइप लाइन, रोजगारी प्रधानमन्त्रीका कुनै भाषणमा छुटेनन् ।
‘हनिमुन पिरियड’मा जनताले प्रधानमन्त्रीका भाषण सुने मात्र । भने अनुसार केही मात्रै गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राखे । सरकारका सय दिन भाषणमै विते । नयाँ सरकारको बजेटपछि बृद्ध भत्ता बढ्ने अपेक्षा बृद्धबृद्धाले गरे । बाम सरकार बनेपछि शैक्षिक क्षेत्रमा बढिरहेको लूटतन्त्र नियन्त्रण होला भन्ने अपेक्षा अभिभावक र विद्यार्थीले गरे । अनियन्त्रित बजार भाउ नियन्त्रण होला भन्ने आमजनताले आशा राखे । कालोबजारी, तस्करी, महङ्गी, घुसखोरीविरुद्ध सरकारले कदम चाल्ला भन्ने आमअपेक्षा थियो ।

सरकार गठन भएको आज २ सय ७८ दिन तथा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको १ सय ८७ दिन पूरा भएको छ ।

सुन तस्कारमाथि छानविन, समयमै काम नसक्ने र निर्माण कार्यमा गुणस्तरीय सामग्री प्रयोग नगर्ने ठेकेदार, सार्वजनिक सवारीको रुटमा एकाधिकार कायम गर्ने व्यवसायी, एनजीओ÷आईएनजीओहरुमाथिको अनुगमन र नियमनबाट केही राहत हुने जनअपेक्षा थियो । तर सरकार त्यसबाट पनि पछि हटेको देखियो । बेथिति कायमै रह्यो । सरकारका निर्णय एकपछि अर्को विवादित हुन थाले ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जनता जति चिन्तित छन् सरकारका पछिल्ला निर्णयबाट निराश बनेका छन् । पार्टी संगठन भद्रगोल भएको नेकपाका केन्द्रीय स्तरका नेताहरुबाटै सार्वजनिक रुपमै व्यक्त भएका छन् । नेकपाका कार्यकर्तामा चरम असन्तुष्टि बढेका छन् ।

यतिबेला सरकारप्रति बढेको जनआक्रोश र पार्टी कार्यकर्तामा नेतृत्वप्रति बढेको चरम असन्तुष्टि नेकपाले थेग्न सक्ने अवस्थामा छैन । सामाजिक सञ्जाल, सार्वजनिक मञ्च र सार्वजनिकस्थलहरुमा यो असन्तुष्टि छताछुल्ल भइरहेका छन् । जनस्तरमा ‘बाम’को काम कहिले जाला ‘घाम’ भन्ने आहान व्यक्त हुन थालेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण यी समस्या सम्हाल्न नसकिने गरी बढेका हुन् भन्ने पनि कतिपयको आँकलन छ । यदि यस्तै हो भने उहाँको स्वास्थ्यका लागि नेकपाले सोचोस् । प्रधानमन्त्रीको स्वास्थ्यका कारण देश नै अस्वस्थ बन्ने वातावरण किन बनाउनू ?

प्रधानमन्त्री ओली अधिक इच्छाशक्ति भएको र देशका लागि केही गर्ने अडान भएको छवि बनाएका नेता मानिन्छन् । उनले चाहेको काम गर्न कसैले रोकेको भए त्यो पनि सार्वजनिक गर्दा राम्रै हुन्छ । स्वास्थ्यकै कारण केही गर्न नसकेको हो भने प्रधानमन्त्रीज्यू ! पहिला आफू स्वस्थ बन्नुहोस् । विग्रेको स्वास्थ्य न तपाईंका लागि, न नेकपाका लागि न त देशकै लागि हितकर हुन्छ । अस्वस्थ शरीरले स्वस्थ्य ढंगले सोच्नै सक्दैन । यसबारे नेकपाले गम्भीर रुपले सोचोस् । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको स्वास्थ्यका कारण पार्टी, जनता र देशलाई अस्वस्थ बनाउने काम नहोस् ।

प्रधानमन्त्री ओलीकै पहलमा चीनसँग ऐतिहासिक पारबहन सम्झौताको प्रोटोकलमा सहमति बन्यो । देशका लागि प्रधानमन्त्री ओलीका तर्फबाट भएको यो सकारात्मक पहल थियो । विम्स्टेक सैन्य अभ्यासमा नेपाली सेनालाई रोकेर प्रधानमन्त्री ओलीले सार्वभौमिकताको परिचय दिएकोलाई पनि सकारात्मक नै मानिएको थियो । तर नेपाल क्षेत्रीय कूटनीतिमा फितलो देखिएको छ । यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल आइसकेका छन् । उनी तेस्रोपटक नेपाल आउने करिव निश्चित भएको छ । तर उत्तरी छिमेकी चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण अझै निश्चित हुन सकेको छैन । चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाल भ्रमण गर्ने भनिए पनि त्यो अनिश्चयमै छ । यसतर्फ पनि प्रधानमन्त्री ओलीले गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । – जनदिशा डेस्क

यो पनि पढ्नुहोस :

बाम गठबन्धनलाई दुईतिहाई : ‘बाँदरको पुच्छर, लौरो न हतियार’!

दुईतिहाईको सरकार र जनताका आशाहरू

 

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top