ट्याम्पु चालकको खातामा ३,00,00,00,000.00 रुपियाँ !

एक साधारण ट्याम्पु चालकको खातामा तीन अर्ब पाकिस्तानी रुपियाँ जम्मा भएपछि चालक मोहम्मद रशीद छक्कै परे । यसरी एकाएक आफ्नो खातामा त्यति ठूलो रकम जम्मा हुँदा जोसुकै पनि दंगदास हुन्छ नै ! तर, केही दिन अघि आफ्नी सानी छोरीका लागि तीन सय रुपियाँको साइकल किन्न समेत एक वर्ष पसिना बगाएका रसिदको खातामा एकाएक सपनामा पनि नचिताएको रकम जम्मा भएपछि तनावमा पुगेका छन् ।

यस विषयमा बोल्दै उनले भने –‘यो देखेर म असिनपसिन भएँ । थर–थर काम्न थालें ।’

वास्तवमा यो रकम उनको खातामा मनी लाउन्ड्रिङ गर्नेहरुको बदमासीका कारण जम्मा भएको हो ।

४३ वर्षीय रसीदलाई संघीय जाँच एजेन्सीको त्यस सम्बन्धमा फोन आएपछि उनले लुक्ने कुरा सोचेका थिए । तर, साथीभाई र परिवारको सदस्यले सम्झाइबुझाइ गरेपछि उनी अधिकारीहरुलाई सहयोग गर्न तयार भए ।

मनी लाउन्ड्रिङको केसमा हाल रसिद दोषमुक्त भएका छन् । तर, उनको छटपटी अझै कायम छ । उनले भनेका छन् –‘मैले आफ्नो अटो रिक्सा सडकमा चलाउन बन्द गरिदिएको छु । किनकी अरु जाँच एजेन्सीले मलाई पक्रिन पनि सक्छन् ।’

यो तनावले गर्दा आफ्नी श्रीमति समेत बिरामी भएको उनले बताएका छन् ।

वास्तवमा पाकिस्तानमा यस्तो किसिमको घटना भएको यो पहिलो होइन । हालका दिनमा पाकिस्तानमा यस्ता घटनाका कयौं खबरहरु प्रकाशित भएका छन् । पाकिस्तानको गिर्दौ अर्थव्यवस्थालाई मध्यनजर गर्दै नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले देश बाहिर लगिएको अर्बौ डलर रुपियाँ फिर्ता ल्याउने संकल्प गरेका छन् । उनले गत बुधबार टिभीमा आफ्नो संबोधनमा भनेका छन् –‘यो धन तपाईंबाट चोरिएको धन हो । म यो देशको कुनै पनि भ्रष्ट व्यक्तिलाई छोड्दिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *