नेकपा वैद्य समुहको विद्यार्थी संगठनमा भाँडभैलो

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा भाँडभैलो सुरु भएको छ । विद्यार्थी नै नरहेका हरिकृष्ण गजुरेललाई पार्टीका तर्फबाट विद्यार्थीको नेतृत्व सुम्पिने तयारी गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका हुन् ।

विद्यार्थी समुहको गत असोज ८ देखि ११ गतेसम्म जारी केन्द्रीय अधिवेशनमा खासगरी सिपी गजुरेलले नजिकका नाता पर्ने हरिकृष्ण गजुरेललाई अध्यक्ष बनाउनुपर्ने अड्डी कसेपछि संगठनका पुराना विद्यार्थीहरुले विद्रोह गर्ने चेतावनी दिएका थिए । सम्मेलनले नेतृत्व विवाद टुंग्याउन नसके पछि एक महिनाका लागि भनि चयन प्रकृया सारिएको छ ।

पार्टी अध्यक्ष मोहन वैद्य किरणले उद्घाटन गरेको सो सम्मेलनमा विद्यार्थी समूहका तर्फबाट निवर्तमान महासचिव राम नेपालीको नाम अघि सारिएको थियो । जसलाई सिपी गजुरेलले अस्विकार गरेका थिए । त्यसपछि विद्यार्थीले यसअघिका अध्यक्ष सेवन्तराज भण्डारीलाई नै बनाए पनि मान्य हुने प्रस्ताव गरेका थिए । त्यसमा पनि सहमती हुन नसके पछि संगठनभित्र बिद्रोह हुन सक्ने खतरा बढेको छ ।

यस विषयमा निवर्तमान महासचिव नेपालीले विद्यार्थी समूहभन्दा बाहिरको नेतृत्व आफुहरुलाई मान्य नहुने, आफ्नो नाममा बहुसंख्यक विद्यार्थीको सहमती भइसकेको बताए । तर यदी एक महिना पछि पनि पार्टीले आफ्नो निर्णय नसच्याए के गर्ने भन्ने अहिले नै नसोचिसकेको र त्यसपछि के गर्ने भन्ने छलफल गरि अघि बढ्ने कुरा जनदिशालाई बताएका छन् ।

हाल पार्टीको तर्फबाट भनि अघि सारिएका हरिकृष्ण देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यालय सचिव थिए । उनलाई सिपी गजुरेलले एकाएक सिसिएममा ल्याए पछि पार्टीका पाँचजनाले विद्रोह स्वरुप पार्टी नै त्याग गरेका थिए । उनिहरुले पार्टीभित्र नेताको चाकरी प्रवृत्ति मौलाएको र चन्दा उठाएर दिनेलाई मात्र च्याप्ने गरेको आरोप लगाएका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top